दरबार हत्याकाण्डको १९ वर्ष पूरा,घटना रहस्यमय नै रह्यो

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार

काठमाडौं । आज जेठ १९, राजा वीरेन्द्रको वंशनाश गर्ने गरी घटेको दरबार हत्याकाण्डको १९ वर्ष पूरा भएको छ ।

२०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिराजकुमारी श्रुतिसहितका राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । नेपालको इतिहासकै कालो दिनका रुपमा अंकित जेठ १९ मा भएको घटनाबारे अझै पनि नेपालीको मन सन्तुष्ट हुने गरी तथ्य स्थापित भएको छैन ।

वीरेन्द्रको वंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि ज्ञानेन्द्र शाहले ४ वर्ष राजगद्दी सम्हाले। माओवादीको शसस्त्र द्धन्द्ध र राजनीतिक दलहरुको जनआन्दोलन पछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि देशमा राजतन्त्र नै समाप्त भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट