आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै

प्रकाशित मिति: १५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं। आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट आज संघीय संसदमा प्रस्तुत गरिँदै छ ।

संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले संवैधानिक ब्यवस्था अनुसार हरेक वर्षको जेठ १५ मा वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुसार उच्च अंकको आर्थिक वृद्धिको लक्ष्यसहित आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् ।

कोरोना भाइरसको संक्रमणले निम्त्याएको विषम परिस्थितिका कारण यसपालिको बजेटबाट सामान्यभन्दा पनि सर्वसाधारणदेखि व्यवसायीसम्मले ठूलो अपेक्षा गरेका छन्।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि प्रवेश गरेपछि भाइरसको संक्रमण रोक्न भन्दै सरकारले चैत ११ देखि लागू हुने गरी घोषणा गरेको लकडाउनको आज ६६औं दिनसम्म आइपुग्दा देशको आर्थिक अवस्था ऋणात्मक बाटोमा छ।

आर्थिक गतिविधि ठप्प छन्, उद्योग व्यवसाय दुई महिनादेखि बन्द छन् भने मुलुकको अर्थतन्त्र धानेको रेमिट्यान्स ओरालो अवस्थामा छ। विषम परिस्थितिमा आउने आजको बजेटबाट आम नागरिकले धेरै अपेक्षा राखेका छन् ।

अपरान्ह ४ बजेबाट संसद्को दुवै सदनमार्फत सार्वजनिक हुने बजेटले कोरोनाबाट थिलथिलो परेको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट