रुकुम हत्या काण्ड: युवतीका आमाबुवासहित २० जनाविरुद्ध किटानी जाहेरी

प्रकाशित मिति: १४ जेष्ठ २०७७, बुधबार

जाजरकोट। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

उच्च जातकी युवतीसँगको प्रेम सम्बन्धमा रहेका जाजरकोटका दलित युवाको हत्या घटनामा संलग्न रहेको आरोपमा पीडित परिवारले वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएका छन् ।

दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्नेलगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।

पीडित पक्षले वडाध्यक्ष मल्ल, उनका बाबु वीरबहादुरसहितका मानिसहरुले लखेटी लखेटी आफ्ना सन्तानको हत्या गरेको जाहेरीमा उल्लेख गरेका छन्। किटानी जाहेरी अनुसार घटनामा संलग्न रहेका भनिएका अन्य ८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका निवासी १८ वर्षीय लोकेन्द्र सुनार, १८ वर्षकै सञ्जु विक र १७ वर्षीय गोविन्द शाही शनिबारको घटनापछि बेपत्ता रहेका छन् भने भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का सुनारको शव यसअघि नै फेला परिसकेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट