काठमाडौंका सबै नाका सिल, आउनै परे आरडीटी रिपोर्ट देखाउनु पर्ने

प्रकाशित मिति: ८ जेष्ठ २०७७, बिहीबार

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गरेको छ । काठमाडौं प्रवेश गर्ने क्रम वृद्धि हुँदा उपत्यका क्षेत्रमा जोखिम बढीरहेकाले गृह मन्त्रालयले सबै नाका सिल गर्दै लकडाउन थप कडाई गर्ने निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

यसका साथै गृहले अत्यावश्यक कामले काठमाडौं प्रवेश गर्दा आरडीटी रिपोर्ट समेत हेर्ने उल्लेख छ । गृहले स्थानीय निकायलाई पठाएको पत्रमा भनिएको छ, ‘‘उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश गर्नु पूर्व नै आफ्नै खर्चमा आरडीटी परीक्षण गरी त्यसको रिपोर्टका साथ उपत्यका प्रवेश अनुमति माग गर्नुपर्नेछ ।”

काठमाडौं उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गर्दै मन्त्रालयले लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरेको छ। पत्रमा काठमाडौं उपत्यका प्रवेश बिन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश बिन्दुमा पुग्नु पूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने पनि उल्लेख छ।

गृहले उपत्यकाका स्थानीय तहलाई अनुरोधसहित पठाएको पत्रमा स्थानीय संघसंस्था-क्लबहरुले गरिरहेको सामूहिक राहत वितरण र खाना वितरणले भिडभाड बढ्न गई जोखिम बढाएकोले उक्त कार्य स्थानीय तहसँग समन्वय नभएमा रोक्ने र समन्वय गरी स्वास्थ्य सम्वन्धी प्रोटोकल पालना गरी वितरण गर्ने पनि उल्लेख छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट