कन्ट्याक्ट ट्रेसिङमा खटिएका थिए ललितपुरका कोरोना संक्रमित स्वास्थ्यकर्मी

प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलवार

काठमाडौं । मंगलबार पुष्टि भएका ललितपुरका कोरोना संक्रमित कन्ट्याक्ट ट्रेसिङमा खटिएका स्वास्थ्यकर्मी रहेको खुलेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी पाँच दिनअघि कपिलवस्तु र रुपन्देहीमा संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

मन्त्रालयले मंगलबार दिएको जानकारीमा ललितपुरका एकमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख थियो। ललितपुरका संक्रमित इपिडिमियोलोजी तथा रोग नियन्त्रणमा महाशाखामा करारमा कार्यरत यी चिकित्सक रहेको पुष्टि भएको हो। ट्रेसिङ कार्यमा खटिएपछि उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। अहिले उनीसँग सम्पर्कमा आएका कर्मचारीहरूको विवरण लिने कार्य भइरहेको छ।

मंगलबार साँझ काठमाडौंमा मात्र पाँच जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ३, भक्तपुर र ललितपुरका एक-एक जना रहेका छन् भने झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाही २, मकवानपुरमा १, रामेछापमा १, सिन्धुलीमा १, लम्जुङमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ गरी देशभर थप २७ नयाँ संक्रमित फेला परेको छन् । योसँगै नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट