इन्टरनेट सेवा प्रदायक संस्थाद्वारा कोरोनाविरुद्द लड्ने संस्थाहरुलाई सहयोग प्रदान

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था नेपालले कोरोना भाइरसको प्रकोपले सम्पूर्ण विश्व नै आक्रान्त बनेको यो परिस्थितिमा कोरोनाविरुद्धको लडाई लडिरहेका विभिन्न संस्थाहरुलाई सहयोग गरेको छ ।

विश्वका सम्पूर्ण देशहरु कोरोना भाइरसको प्रकोपले आक्रान्त भएका र हाम्रो देश नेपाल पनि सो महामारीबाट अछुतो रहन नसकेको सबैलाई थाहा नै छ । नेपालमा पछिल्लो समय संक्रमितहरुको संख्या बढ्दो क्रममा रहेको छ । यो विषम परिस्थितिमा पनि महामारीविरुद्ध लड्न देश र राष्ट्रलाई सहयोग गर्नु एउटा जिम्मेवार नागरिकको कर्तब्य हुन आउछ । यिनै परिस्थितिलाई मध्यनजर गर्दै इन्टरनेट सेवा प्रदायक संस्था नेपालले केहि उदाहरणीय काम गर्ने संस्थाहरुलाई आर्थिक तथा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेर सहयोग गरेको छ ।

संस्थाले राष्ट्रिय आविष्कार केन्द्र र सो अभियानका मुख्य अभियन्ता महावीर पुनलाई नगद रु.५ लाख आर्थिक सहयोग गरेको छ । महावीर पुनले कोरोनाविरुद्ध लड्नका लागि चाहिने विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु स्थानीयस्तरमै निर्माण गरी आवश्यकता पर्ने सम्पूर्णलाई नि:शुल्क रुपमा उपलब्ध गराउदै राज्यलाई निकै ठूलो योगदान गरेको हुँदा उनलाई सो रकम सहयोग गरिएको संस्थाले जनाएको छ।

यस्तै भक्तपुर क्यान्सर अस्पताललगायत विभिन्न क्षेत्रमा सहाराविहीनहरुलाई यस्तो महामारीको बेला बिहान र बेलुकी खाना खुवाउँदै आइरहेको र सहाराविहीनहरुको वास्तविक सहारा बनिरहेको हुँदा मानव आश्रम भक्तपुरलाई नगद रु.२ लाख एकहजार आर्थिक सहयोग गरिएको छ । उक्त परोपकारी कार्यमा संस्थाको पनि सहभागिता जनाउँदै सो रकम प्रदान गरिएको हो ।

यस्तै ट्राफिक प्रहरी प्रभाग बग्गीखाना, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी, नेपाल प्रेस काउन्सील अन्तर्गतका पत्रकार मित्रहरुलगायत काठमाडौं महानगरपालिकालाई ३०० थान के-९५ मास्क, ३०० थान सेनीटाइजर, ५ पाकेट (५०० थान) पन्जा उपलब्ध गराइएको इन्टरनेट सेवा प्रदायक संस्था नेपालले जनाएको छ ।

संस्थाले यस्तो गम्भीर परिस्थितिमा पनि आफूहरु सबै सेवा प्रदायकहरू अटुट रुपमा इन्टरनेट सेवा प्रदान गर्ने बाहेक सामाजिक कार्यलगायत जनहितको अभियानमा खटिएकाहरुसँग पनि हातेमालो गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै सबैलाई घरमै सुरक्षित बसेर कोरोनालाई पराजित गर्न आग्रह समेत गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट