बिदामा नेपाल आएकाले मात्रै कोरिया जान पाउने

चार्टड विमानको शुल्क आफैंले तिर्नुपर्ने

प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलवार

काठमाडौं। दक्षिण कोरियाबाट बिदामा नेपाल आएका श्रमिक कोरिया फर्कन पाउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीअघि बिदा लिएर नेपाल आएका नेपाली श्रमिकलाई कोरियासम्म पुर्‍याउन सरकारले समन्वय गरिदिने निर्णय गरेको हो ।

विशेषगरी लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो। आफूले काम गरिरहेको कम्पनीले छिटो फर्कन भनिरहने तर लकडाउनका कारण फर्कन नसक्दा नेपालमा रहेका नेपाली श्रमिक चिन्तित थिए।

जसका लागि सहयोग गर्न यहाँको एनआरएनए, सामाजिक तथा व्यवसायी सङ्गठनहरूले नेपाल सरकारलाई अनुरोध गरेका थिए। अनुरोध बमोजिम नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकबाटै लकडाउन अवधिमा भए पनि कोरिया सरकारसँग छलफल गरी फर्कनुपर्ने नेपालीलाई कोरिया फर्कन मिल्ने निर्णय गरेको थियो। निर्णयपश्चात एनआरएनए कोरियाले नेपाल एयरलाइन्ससँग विमान चार्टर्ड गर्ने सम्झौता गरेको हो।

एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच सोमबार भएको सम्झौताअनुसार पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट हुनेछ। जसमा भिसा सकिन लागेकालाई प्राथमिकता दिइ उडाइने छ। यसरी फर्किने श्रमिकले टिकट बापत एक लाख १३ हजार ७ सय ७५ रुपैँया अप्रिल २९ तारिख दिउँसो २ बजेभित्र बुझाउनु पर्नेछ। कोरिया फर्केपछि अनिवार्य रूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नु पर्नेछ। सेल्फ क्वारेन्टाइनको व्यवस्था गर्न नसक्नेहरूले इन्छन एयरपोर्टको हेल्प डेस्कमा सम्पर्क गरी दिनको एक लाख कोरियन वन तिरेर क्वारेन्टाइनको सुविधा लिनसक्ने पनि बताइएको छ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, “ईपीएस प्रणालीअन्तर्गत मित्रराष्ट्र गणतन्त्र कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा भएका हाल बिदामा नेपालमा रहेका व्यक्तिहरु स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराई निजहरुकै खर्चमा चार्टड उडानबाट जान स्वीकृति दिने।”


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट