कहिलेसम्म बदनाम गरिरहने हो महाकाली अस्पतालको ?

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलवार

डाक्टरमाथि हातपात, विशेषज्ञ डाक्टरहरुलाई बस्ने वातावरण नहुनु, रेफर सेन्टरका रुपमा परिभाषित हुने गरेको र कुनैबेला सधैंजसो उपेक्षित रहिआएको कञ्चनपुरको महाकाली अस्पताल पछिल्लो केही समययता राम्रो गतिमा अगाडि बढिरहेको थियो । कञ्चनपुरका सचेत युवाहरुको दृढ इच्छाशक्तिले अत्यन्तै छोटो समयमा उल्लेख्य प्रगतिको नतिजा पनि देखिने क्रममा थियो । तर, त्यही अस्पताल फेरि पनि केही अमानुसहरुको छत्रछायामा हुर्केकाहरुको कुटिल चक्रब्यूहमा परेको छ यतिबेला,र यही चक्रब्यूहमा कञ्चनपुरको बदनाम हुँदै आइरहेको धेरै समय बितिसक्यो। नागरिक स्वयं जागरुक भएर लागिरहदा अस्पतालभित्रका केही थान कर्मचारी र मेडिकल माफियाका हर्कतमा भएको यस्तो घटनाले नागरिकका अस्पताल सुधारका सपना तुहाउने संघारको सुरुआत गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट अस्पताल प्रशासनले खरिद गरेको भेन्टिलेटर पाँच वर्ष पुरानो (२०१५) मोडेलको हुनु, खिया लागेको हुनु, यसअघि नै प्रयोगमा आइसकेको हुनु, सम्झौता बिना नै जिम्मेवारी प्राप्त काठमाडौंको आरजे सप्लायर्सले त्यस्ता सेकेन्डह्यान्ड उपकरण अस्पतालमा ल्याइ पुर्‍याउनुले अस्पताल प्रशासनभित्र कस्ता मान्छेको हालीमुहाली छ भन्ने सत्य पुष्टि गरेको छ । पुरानो भेन्टिलेटर खरिदमा देखिएको विवादले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा खरिद गरेको भनिएको भेन्टिलेटर खरिदका क्रममा अस्पताल प्रशासन र अस्पताल विकास समितिका बीचमा पर्याप्त छलफल, परामर्श र सहमतिको अभाव छताछुल्ल भएको छ ।

वर्तमान अस्पताल विकास समितिमा अहिलेसम्म कञ्चनपुरमा इमानदार छवि भएका अध्यक्ष र सदस्यहरु छन् । यति पुरानो अस्पताल र झन पछिल्लो समय समितिसँगै कञ्चनपुरका दिग्गज युवाहरु स्वयंसेवी रुपमा स्तरोन्नतिका निमित्त सक्रिय रहेको अवस्थामा भेन्टिलेटर जस्तो संवेदनशील उपकरण खरिदमा देखिएको यस किसिमको नाटकीय प्रपञ्चले अस्पताल विकास समितिको औचित्य र जवाफदेहिता माथि पनि प्रश्नचिन्ह खडा भएको छ । यद्यपि, समितिमा इमानदार र दृढ इच्छाशक्ति भएका युवाहरु छन् । तथापि यस घटनाको प्रकृतिले अस्पताल प्रशासन र विकास समितिको आपसी छलफल, परामर्श र सहमतिमा रत्तिभर पर्याप्तता देखिदैन ।

यस घटनाले आम नागरिकहरुबीच प्रत्यक्ष सरोकारवाला दुवै (अस्पताल प्रशासन र विकास समिति) को मात्रै होइन कतै विकास समितिभित्रै पनि पर्याप्त छलफल, परामर्श र सहमतिको अभाव त छैन भन्ने शंकास्पद वातावरणको समेत सिर्जना गरिदिएको छ । जबकी, सरकारले नियमित उपलब्ध गराउदै आएका औषधि र अन्य सामग्री बाहेक सामान्य कार्यका लागि पनि अस्पताल प्रशासन, विकास समिति र आवश्यक ठहर गरेमा जानकार एवं कञ्चनपुरमा उपलब्ध सेवा निवृत्त स्वास्थ्यसँग सम्बन्धित विद्वानहरुसँग समेत सल्लाह गरिनु उपयुक्त हुन्थ्यो, तर यति महत्त्वपूर्ण उपकरण खरिदका क्रममा देखिएको यस्तो अकर्मण्यता र गैरजिम्मेवारीपनले महाकाली अस्पताल कतै बिचौलियाहरुको कब्जामा त छैन भन्ने शंका उब्जाएको छ । पचासौं लाखका अति संवेदनशील उपकरण सम्झौता बिनै पठाउने सप्लायर्स नै कसरी छनौटमा पर्‍यो, यसले झन बिचौलियाको उपस्थितिलाई स्पष्ट सङ्केत गर्दैन र ?

यदि बाहिर समाचारमा आएजस्तो तथ्य, सत्य नै हो भने अस्पताल विकास समिति, सरोकारवाला सबै र आम नागरिक समेतले यस्ता कुकृत्यका खिलाफमा तुरुन्तै शुन्य सहनशीलता दर्शाउनुपर्छ । यदि, कुनै पनि राजनीतिक दल या अन्य शक्तिको छत्रछायाको आडमा या मिलेमतोमा या दबावरप्रभावमा यस्तो गरिएको रहेछ भने पनि अस्पताल विकास समितिमा रहनुभएका हामीले आशा र विश्वास गरेका जिम्मेवार युवाहरुले यथार्थ सार्वजनिक गर्ने साहस देखाउने बेला हो यो ।

यद्यपि, अस्पताल प्रशासनभित्रका केही मान्छेहरु विभिन्न राजनीतिक दलको आडमा अस्पतालको स्तरोन्नति हुन नदिने कृतघ्नतामा लामो समयदेखि सशक्त रुपमा क्रियाशील रहिआएको तथ्य पहिलाका अध्यक्ष र सदस्यहरुले समेत स्वीकार्दै आउनुभएको छ । अहिले भेन्टिलेटर खरिदमा पनि त्यस्तै दुष्टआत्माको छाँया परेको हो भने अस्पताल विकास समितिले केही गर्न नसके तिनको नाम,थर, वतन हामीलाई बताइदिनुस्, हामी तिनको धमाकेदार नागरिक अभिनन्दन गर्नेछौं । अस्पतालमा समेत कमिसन र राजनीति नछाड्नेहरुलाई जुद्ध शमशेरकालीन सजाय दिदा पनि पाप लाग्दैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट