भारतमा मे ३ सम्म लकडाउन, पहिले भन्दा पनि कडाइ गरिने

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलवार

नयाँ दिल्ली । भारतले आगामी मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्म लकडाउन लम्ब्याएको छ। मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै पक्षसँगको छलफलपछि लकडाउन तीन साता लम्ब्याइएको घोषणा गरेका हुन्।

अबको लकडाउन अझ कठोर बनाइने जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले आम नागरिकहरुलाई पहिलेभन्दा अझ बढी सतर्कता अपनाउन आग्रह गरेका छन्। सामाजिक दुरी र लकडाउनले निकै लाभ मिलेको उनले बताएका छन् ।

मोदीले भने, ‘आर्थिक दृष्टिकोणमा निकै महंगो छ तर भारतबासीको जीवनका अगाडि यो ठूलो होइन ।’ उनले लकडाउनको पालना गरी यथास्थानमा बस्न आग्रह गरेका छन् ।

कोरोना भाइरसविरुद्धको यो लडाईँमा जनताको साथको खाँचो रहेको उनले बताएका छन् । उनले लकडाउनको पूर्ण पालना गरेमा अप्रिल २० पछि केही खुकुलो बनाउन सक्ने बताए । तर, यस्तो छुट पनि शर्तसहित हुने उनले स्पष्ट पारेका छन् ।

भारतमा अहिलेसम्म १० हजार ४ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ सय ५८ जनाको निधन भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट