आइतबार राति ९ बजेर ९ मिनेटसम्म मैनबत्ती, दियो वा टर्च बाल्न मोदीको अपिल

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

नयाँ दिल्ली । कोरोनाविरुद्ध शक्ति प्रदर्शन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति ९ बजेर ९ मिनेटका लागि भारतभर बिजुली बन्द गरेर मैनबत्ती, दियो, टर्च वा मोबाइलको लाइट बाल्दै एकताको सन्देश दिन आग्रह गरेका छन् ।

मोदीले शुक्रबार बिहान एक भिडियो सन्देश जारी गर्दै महामारीका बेला निरन्तर प्रकाशतर्फ जानुपर्ने बताउँदै सबैभन्दा धेरै प्रभावित गरिबको निराशालाई आशातर्फ लैजानुपर्ने धारणा व्यक्त गरेका छन् । कोरोनाविरुद्ध भारत एकजुट रहेको सन्देश विश्वलाई दिन यो आग्रहलाई स्वीकार गर्न भन्दै मोदीले यसबाट १ सय ३० करोड भारतीय जनता कोरोनालाई हराउन सक्षम रहेको सन्देश विश्वमा जाने मोदीको भनाई थियो ।

उनले भने, ‘यो संकटका कारण जुन अन्धकार र अनिश्चितता पैदा भएको छ त्यो चिर्दै उज्यालोतर्फ लम्कनुुछ । यसलाई पराजित गरेर प्रकाशको तेजलाई चारै दिशामा फैलाउनु छ त्यसकारण आइतबार (अप्रिल ५) मा हामी सबै मिलेर कोरोनाको संकटको अन्धकारलाई चुनौती दिनुछ ।’

उनले थपे, ‘५ अप्रिलमा १३० करोड देशवासीको संकल्पलाई नयाँ उचाइमा लैजानुछ । ५ अप्रिल राति ९ बजे म तपाईंहरुको ९ मिनेट चाहन्छु । ५ अप्रिलमा घरको बत्ती बन्द गरेर ढोका वा बाल्कोनीमा उभिएर मैनबत्ती, दियो, टचए वा मोबाइल फ्ल्यासलाइटलाई ९ मिनेटसम्म बाल्नुहोस् ।’

भारतमा कोरोना संक्रमित र त्यसका कारण मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म कोरोनाबाट भारतभर ५० जनाभन्दा बढिको मृत्यु भइसकेको छ भने झन्डै १ हजार ८०० स‌ंक्रमित भएका छन् । ठूलो जनसंख्या रहेको भारतमा अहिले कोरोनाले ठूलो महामारीको रुप लिने हो कि भन्ने सन्त्रास कायम छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट