हरेक मृत्युलाई कोरोनासँग नजोड्न स्वास्थ्य मन्त्रालयको आग्रह

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरससँग नजोड्न आग्रह गरेको छ ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले गाउँघरमा कसैको मृत्यु हुँदा कोरोनाकै कारण मृत्यु भएको भन्दै मलामी समेत नजाने अवस्था आएकोले त्यसो नगर्न सबैलाई आग्रह गरेका छन् ।

कोरोनाकै कारण मर्यो भन्ने हल्ला फैलाएका कारण मलामी नजाने गरेको खबर आएको भन्दै उनले ५ देखि १० प्रतिशत नागरिकलाई मात्रै अस्तपालमा भर्ना गर्नुपर्ने भएकाले कारोनाका कारण ज्यान गुमाउनेको दर कम हुने बताए ।

कुनै कारणवश ज्यान गए पनि कोरोनाकै कारण ज्यान गएको भन्ने भ्रम नराख्न उनले सबैलाई आग्रह गरे । अहिलेसम्म मृत्यु भएकाहरुको कोरोना परीक्षण गर्दा पनि नेगेटिभ रिपोर्ट नै आएको छ । डा. कार्की भन्छन्, ‘अरुअरु रोगका कारण भएको मृत्युलाई पनि कोरोनाकै कारण भन्नु भनेको हामीलाई मनको त्रास असाध्यै भएको हो ।’

उनकाअनुसार नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको छ र स्थानीय तथा समुदाय स्तरमा फैलिन पाएको छैन । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९९३ वटा नमूना परीक्षण गरेकोमा पाँच जनामा मात्रै कोरोना पुष्टी भएको जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट