कोरोना अस्पतालमा उपचार गराइरहेका एक युवकको मृत्यु

प्रकाशित मिति: १६ चैत्र २०७६, आईतवार

बुटवल । कोरोना विशेष अस्पताल बुटबलमा भर्ना भएका एक जना युवकको आइतबार बिहान मृत्यु भएको छ।

चैत ६ गते दुबईबाट फर्किएका रुपन्देही सैनामैना नगरपालिकाका ३४ वर्षीय पुरुषको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए। चैत ६ गते दुबईबाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए ।

ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला उनको मृत्यु भएको डाक्टर थापाले जानकारी दिए।

उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन। उनको स्वाब आज मात्र परीक्षणका लागि काठमाडौं पठाइएको तर रिपोर्ट आइनसकेको डाक्टर थापाले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट