धनगढीका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

धनगढी । काठमाडौं उपत्यकाबाहिर कोरोना भाइरस (कोभिड-१९) को पहिलो संक्रमित फेला परेको छ ।

दुबईबाट फर्केर धनगढीस्थित सेती अस्पतालमा उपचार गराइरहेका ३४ वर्षीय पुरूषमा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले एक पत्रकार सम्मेलन गर्दै उनी उपत्यकाबाहिरबाट कोरोना भाइरसको संक्रमण पुष्टि भएका पहिलो व्यक्ति भएको पनि उल्लेख गरेको छ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। हाल उनको अवस्था सामान्य छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये दुईको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन्।

उपत्यकाबाहिर समेत संक्रमित भेटिएपछि लकडाउन, होम क्वारेन्टाइन र सेल्फ आइसोलेसन लगायतका नियम थप कडाइका साथ पालना गर्न मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट