दिल्लीमा जारी हिंसाले लियो उग्र रुप, मर्नेको संख्या १८ पुग्यो

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा जारी हिंसामा परी १८ जनाको मृत्यु भएको छ । नागरिकता संशोधन कानुन (सीएए)को समर्थन गर्ने र विरोध गर्ने समूहबीच आइतबारबाट भड्किएको हिंसामा परी बुधबार बिहानसम्म १८ जनाले ज्यान गुमाएका हुन् ।

समाचार संस्था एएनआईले गुरु तेगबहादुर अस्पतालका एमडी सुनिलकुमार गौतमलाई उद्धृत गर्दै बुधबार बिहान उपचाररत पाँच जना घाइतेको मृत्यु भएको जनाएको छ । योसँगै हिंसामा परी मृत्यु हुनेको संख्या १८ पुगेको हो । नागरिकता संशोधन कानुनविरुद्ध ठूलो संख्यामा प्रदर्शन गरिरहेका नागरिकले आइतबार सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्ध गरिएपछि जाफराबादमा उक्त कानुनको समर्थन गर्दै आएका नागरिकको समूह र विरोध गरिहरेको समूहबीच झडप सुरू भएको थियो ।

प्रदर्शनकारीबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबैभन्दा खराब हिंसा भएको छ । हिंसाले साम्प्रदायिक रुप लिएको छ । हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । उत्तर–पूर्वी दिल्लीको जाफराबाद, मौजपुरलगायतका क्षेत्रमा जारी हिंसामा झण्डै अढाई सय मानिसहरु घाइते भएका छन् । जसमध्ये ६७ सुरक्षाकर्मी पनि रहेका छन् । हिंसाका कारण उत्तर–पूर्वी दिल्लीका सम्पूर्ण शैक्षिक संस्थानहरु बन्द गर्न निर्देशन दिइएको छ । दिल्ली सरकारले आन्तरिक परीक्षाहरु स्थगित गर्ने घोषणा गरेको छ । यसका साथै सरकारले सीबीएसईको बोर्ड परीक्षा पनि स्थगित गरेको छ ।

भारत सरकारले ल्याएको नागरिकता संशोधित कानुनमा भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिकरुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ । तर, यसमा मुस्लिम उल्लेख छैन । त्यसैले यो व्यवस्था विभेदकारी भएको भन्दै भारतमा विरोध भइरहेको छ । यो कानुनको पक्षमा रहेकाहरुले भने अफगानिस्तान, बंगलादेश र पाकिस्तानमा मुस्लिम समुदाय अल्पसंख्यक नभएको र सरकारबाट प्रताडित हुन पनि नपरेकाले उनीहरुलाई भारतीय नागरिकता नदिइएको तर्क गर्दै आएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट