भारत आइपुगेका ट्रम्पलाई मोदीले गरे भब्य स्वागत

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा आज अहमदाबाद आएका छन् । २ दिने भारत भ्रमणका लागि अहमदाबाद आइपुगेका ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद एयरपोर्टमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ट्रम्पले २२ किमी लामो रोड शोमा सहभागी हुनेछन्। ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो समारोहमा लाखौं भारतीय नागरिक सहभागी हुने बताइएको छ । अहमदाबादपछि ट्रम्प आगरास्थित ताजमहल पुग्नेछन् भने त्यसपछि उनी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

भारत भ्रमणको दोस्रो दिन मंगलबार राष्ट्रपति भवन परिसरमा ट्रम्प दम्पत्तिको स्वागत कार्यक्रम हुने छ । त्यहाँबाट महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्न ट्रम्प राजघाट जाने छन् । त्यसपछि हैदराबाद हाउसमा ट्रम्प र मोदीबीच प्रतिनिधिस्तरीय वार्ता हुने छ । सोही दिन साँझ ट्रम्पले राष्ट्रपति भवनमा समकक्षी रामनाथ कोविन्दलाई भेट्ने कार्यक्रम छ । समकक्षी कोविन्दले आयोजना गरेको रात्रिभोजमा सहभागी भएर राति नै ट्रम्प स्वदेश फर्किने कार्यक्रम छ ।

राष्ट्रपतिका रुपमा पहिलो पटक भारत भ्रमणमा आएका ट्रम्पसँग पत्नी मेलानिया, छोरी इवान्का र ज्वाइँ ज्यारेड कुशनर पनि भारत आएका छन्। ट्रम्पको भ्रमणका क्रममा अहमदाबाद शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट