आरोप प्रमाणित भए सजाय भोग्न तयार छु: मन्त्री बाँस्कोटा

प्रकाशित मिति: ८ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन् ।

बिहीबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले उक्त घटनाबारे आफू काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताए । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा एक स्वीस कम्पनीका प्रतिनिधिसँग कमिसन मागेको भन्दै बुधबार एउटा अडिओ टेप सार्वजनिक भएसँगै उनी आरोपित बनेका हुन् ।

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैं परास्त हुने भन्दै मन्त्री बाँस्कोटाले आरोप आफैंमा ठूलो कुरो नभएको र सरकार सञ्चालन गर्दा आरोप दिनदिनै लाग्ने जिकिर गरे । मन्त्री बाँस्कोटाले आफूले पार्टीलाई धोका नदिने भन्दै व्यक्तिमाथि आरोप लाग्यो भने आफैंले पुष्टि गर्नुपर्ने बताए ।

मन्त्री बाँस्कोटाले आफू फेरि पनि पार्टीकै कमरेडहरुसँग काम गर्नुपर्ने भएकाले डराएर हिँड्नुपर्ने वा खुट्टा कमाएर हिँडनुपर्ने काम नगरेको दाबी गरे । ‘खाएको विष लाग्छ, नखाएको लाग्दैन’ उनले भने ‘आरोप लगाएको छ भने अरु पनि कुरा होलान् नि । अरु केही चिज होलान् नि ।’

टेप सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी कांग्रेससहित राजनीतिक दलहरूले मन्त्री बाँस्कोटाको राजीनामा मागेका छन्।

यसैबीच सेक्युरिटी प्रेस खरिदबारे लेखा समितिको आजको बैठकले छानबिन गर्ने निर्णय गरेको छ।  खरिदमा कमिसनलाई लिएर मन्त्री बाँस्कोटासमेत तानिएपछि समितिले छानबिन उपसमिति गठन गर्ने अपेक्षा गरेको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट