भक्तपुरबासीमा कोरोनाको त्रास हटाउन घरदैलो अभियान

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलवार

भक्तपुर । भक्तपुरको खरिपाटी क्वारेन्टाइन क्षेत्र आसपासका बासिन्दालाई जनचेतना अभिवृद्धि गर्न घरदैलो अभियान सुरु गरिएको छ । मंगलबार बिहानैदेखि सुरक्षाकर्मीसहितको टोलीले कोरोना भाइरसको त्रास हटाउने उद्देश्यले खरिपाटी क्षेत्रमा घरदैलो अभियान सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा सुरु गरिएको घरदैलो अभियानमा खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थामा रहेको बारेमा जानकारी गराइरहेको छ। चीनको वुहानबाट फर्काइएका एक सय ७५ जना विद्यार्थीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा संक्रमणको त्रास बढेको भन्दै स्थानीयवासीले घर छाड्न थालेको चर्चा चलेपछि स्थानीयलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

टोलीले घर-घरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको र उनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको भन्दै स्थानीयलाई आश्वस्थ पार्ने प्रयास गरेको छ। टोलीले रुघाखोकी नसरोस भनेर नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने, मुखमा मास्क लगाएर काम गर्नुपर्नेजस्ता सावधानी अपनाउन सिकाएको छ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सुरु गरिएको अभियानमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत सहभागी छन्। प्रजिअ पाण्डेले स्थानीयका लागि छुट्टै हेल्थ डेक्स राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेको बताइन् ।

यस्तै घरदैलो कार्यक्रममा स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको भन्दै कोठामा बस्नेहरु केही दिनका लागि आफन्तकोमा गएका र दुई/चार परिवार गाउँ फर्किसकेका बताइन्। बारीमा काम गर्न हातमा सामान बोकेर गएकाको फोटो खिचेर, काममा गएकाहरुको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले समाचार बनाएर गलत हल्ला चलाएको क्वारेन्टाइन नजिकै घर रहेकी खड्काले बताइन्।

अर्का स्थानीय बासुदेव लामिछाने क्वारेन्टाइनमा बस्नेहरुलाई घृणा गर्नुपर्ने कुनै कारण नभएको र बस्ती छाड्नुपर्ने अवस्था नभएको बताए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट