तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बनेका केजरीवालले लिए शपथ

प्रकाशित मिति: ४ फाल्गुन २०७६, आईतवार

नयाँ दिल्ली । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदको शपथ लिएका छन् । आइतबार दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनियताको शपथ लिएका हुन् ।

उनलाई उपराज्यपाल अनिल बैजलले शपथ दिलाएका हुन् । अरविन्द केजरीवालले सन् २०१३ मा काङ्ग्रेसको समर्थनमा ४९ दिन सत्तामा रहेपछि राजीनामा दिएका थिए । त्यसपछि सन् २०१५ मा भएको चुनावमा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जित्दा भाजपाले जम्मा तीन सिटमा विजय हासिल गरेको थियो । गएको फेब्रुअरी ८ मा भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ६२ सिट र भाजपाले आठ सिट जितेको थियो ।

आम आदमी पार्टीले शपथ ग्रहण समारोहका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएको थियो । तर प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वारायणी पुगेका छन् । दिल्लीका सात सांसद, सबै निगम पार्सद, भारतीय जनता पार्टी र कांग्रेसका प्रदेश अध्यक्षलाई पनि शपथ ग्रहण समारोहमा बोलाइएको थियो ।

यस्तै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्रीको सपथ लिएका छन् । केजरीवालले आफ्नो पछिल्लो सरकारको मन्त्रिपरिषद सदस्यलाई कायमै राखेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट