अस्ट्रेलियाको डढेलो नियन्त्रण बाहिर, राजधानी क्यानबेरामा आपतकाल घोषणा

प्रकाशित मिति: १७ माघ २०७६, शुक्रबार

क्यानबेरा । अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो राजधानी क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि आपतकालीन अवस्था घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार करिब पाँच महिना अघिदेखि लागेको डढेलो १८५ स्क्वायर किलोमिटरसम्म फैलिसकेको छ । आगलागीको जोखिम कम नभएसम्म आपतकाल लागू हुने अधिकारीहरुले बताएका छन् ।

क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन् । सिड्नी र मेलबर्नको बीचमा पर्ने यो क्षेत्रमा ४ लाख मानिसको बसोबास रहेको छ । गएको सेप्टेम्बरयता फैलिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्यान गएको छ भने करिब ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भइसकेको बताइएको छ।

अस्ट्रेलियाको इष्ट कोस्टसम्म फैलिएको डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले प्रयास गरिरहेका छन् । अधिकारीहरुले यो आगलागी गएको दुई दशककै सबैभन्दा भयानक र खतरनाक भएको बताएका छन् । आगलागीबाट मुख्य प्रभावित दक्षिणी क्षेत्रमा मात्र १८ हजार पाँच सयभन्दा बढी हेक्टर जमिन सखाप भैसकेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट