एमसीसीबारे प्रधानमन्त्रीलाई कैलालीका ललित जोशीको खुल्लापत्र

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार

कैलाली । सम्माननीय प्रधानमन्त्री ज्यू,
मिलेनियम-च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता मार्फत इण्डो-प्यासिफिक रणनीति अन्तर्गत अमेरिकाले नेपाललाई आफ्नो सैन्य कार्यक्रममा सहमत गराउन हरसम्भव प्रयत्न गरिरहेको र त्यसप्रति सत्तासीन, सरकार समर्थक एवं प्रतिपक्षका समेत अधिकांश नेता नतमस्तक देखिनु देशका लागि ठूलो दुर्भाग्य रहेको मेरो ठहर छ ।

सम्माननीय प्रधानमन्त्री ज्यू,
विशुद्ध अमेरिकी सैन्य कार्यक्रम रहेको एमसीसी सम्झौता हाम्रा वीरपुर्खाहरुले आर्ज्येको नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताको बाधक र विरोधी भएको अटल मान्यतामा समस्त नेपाली जनता रहेको अवस्थामा सरकार र स्वयं सरकारको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्री ज्यू गम्भीर हुनु जरुरी देख्दछु ।

सम्माननीय प्रधानमन्त्री ज्यू,
नेपाललाई आफ्नो सैन्य निगरानीमा राख्ने, दीर्घकालीन द्वन्द्वमा धकेल्ने, बाह्य हस्तक्षेपको क्रिडास्थल बनाउने, नयाँ उपनिवेशका रुपमा नेपाल राष्ट्रको गौरवमय वीरगाथा नामेट पार्ने अमेरिकी साम्राज्यवादी फौजी रणनीति अनुरुप अगाडि सारिएको एमसीसी सम्झौतालाई अस्विकार गर्न र जनभावनाको कदर गरी लोकतान्त्रिक मूल्य र मान्यतालाई अक्षुण्ण राख्न म सम्माननीय प्रधानमन्त्री ज्यू मार्फत नेपाल सरकार, प्रतिपक्षी दललगायतका सम्पूर्ण राजनीतिक शक्ति, आम देशभक्त नागरिक समाज, बुद्धिजीवी, पेशाकर्मी, व्यवसायी, सञ्चारजगत र सम्पूर्ण नेपालीजनमा हार्दिक आव्हान गर्दछु। साथै, संसदमा प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण राजनीतिक दल र तिनका प्रतिनिधिहरुलाई उक्त सम्झौताको विरुद्ध मतदान गर्न जोडदार माग गर्दछु।

सम्माननीय प्रधानमन्त्री ज्यू,
विगतमा पनि नेपालको बृहत हितको हवाला दिँदै गरिएका कोशी, गण्डक, र सम्माननीय प्रधानमन्त्री ज्यू कै सक्रिय संलग्नतामा गरिएको महाकाली सन्धि समेतले प्रचार गरिएको र अपेक्षाकृत सामान्य लाभ पनि नभएको र त्यसबाट नेपालको राष्ट्रियतामाथि आक्रमण भएको र नेपाली भूमिमाथि कब्जा भएको यथार्थ घाम जत्तिकै छर्लंग छ ।

तसर्थ, कोशी गण्डक र महाकाली सन्धिकै डिजाईन र रणनीतिमा अहिले एमसीसी लागू गराउने प्रपञ्चप्रति आम नेपाली नागरिकको चाहना र भावना बुझेर देशहितका खातिर यो फौजी कार्यक्रमलाई अनुमोदन नगर्न/नगराउन अभिभावकीय भूमिका निर्वहनका लागि सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष यो खुल्लापत्र पेश गरेको छु ।

नेपाल आमाको जय होस्
          ललित जोशी      
धनगढी, कैलाली    
१५ माघ, २०७६     


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट