नेपाल घुम्न आएका ८ भारतीयको हिटर बालेका कारण ज्यान गएको आशंका

प्रकाशित मिति: ७ माघ २०७६, मंगलवार

मकवनपुर । भारतको केरलाबाट नेपाल घुम्न आएका ८ भारतीय पर्यटकको रातभर हिटर बालेका कारण मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मंगलबार मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टको एउटै कोठामा बेहोस भेटिएपछि उपचारका क्रममा ८ भारतीय पर्यटकको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता ललनप्रसाद कुर्मीले जानकारी दिए । मृत्यु हुनेमा ३४ वर्षीय रन्जित कुमार पी, ३४ वर्षीया इन्द्र लक्ष्मी, ३८ वर्षीय प्रविणकृष्ण नायर, ३५ वर्षीया शाख्य ससी, पाँच वर्षीय अभिनव सोराङ्य नायर, २ वर्षीय वैसनव रन्जित, ९ वर्षीया श्री भद्र र ७ वर्षीया अर्चा प्रविण रहेका छन्।

भारतको केरलाबाट नेपाल घुम्न आएका १५ भारतीय पर्यटकको टोली पोखरा हुँदै सोमबार बा३क ३६८८ नम्बरको बसमा दामन पुगेका थिए । उनीहरुले रिसोर्टमा ४ वटा कोठा लिएका थिए । एउटै कोठामा सुतेका ८ जना भारतीय नागरिक मंगलबार बिहान साढे ९ बजे बेहोस अवस्थामा भेटिएका थिए । मकवानपुर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रातभर हिटर बालेर सुतेका कारण ८ भारतीय बेहोस भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

‘दुई वटा रुम एट्याचजस्तो भएकाले ८ जना त्यहाँ बसे। बाँकी सात जना अरु दुई कोठामा। तर, मंगलबार आठै जना एउटै कोठामा बेहोस अवस्थामा भेटिएकाले हिटर ताप्दाताप्दै बेहोस भएको हुन सक्ने आशंका गर्न सकिन्छ। बिहान ढोका खोल्दा पनि ग्याँस गन्हाइरहेको थियो’, पालुङ इलाका प्रहरी कार्यालयका प्रमुख विकास तामाङले भने। वेटरले चिया पुर्‍याउन जाँदा कोठाभित्र कोही नबोलेपछि अन्य कोठामा बसेका भारतीयलाई खबर गरेका थिए। त्यसपछि बेहोस भएका ८ भारतीयसहित सबै १५ भारतीयलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट