कोरोना भाइरसको सङ्क्रमण फैलिँदै,चीनमा ४ जनाको मृत्यु

प्रकाशित मिति: ७ माघ २०७६, मंगलवार

काठमाडौं । चीनमा फैलिइरहेको रहस्यमय कोरोना भाइरसका कारण अर्को एक जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार मानिसबाट मानिसमा फैलन सक्ने कोरोना भाइरसका कारण ८९ वर्षीय एक वृद्धको मृत्यु भएको हो ।

कोरोना भाइरसको प्रकोप रहेको ठाउँ वुहान शहरमा रहँदै आएका ती व्यक्तिमा निमोनियाको लक्षण देखिएको अधिकारीहरुले बताएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चीनको गुवाङ्गदोङ्ग प्रान्तमा सङ्क्रमणको दुई वटा घटना मानिस–मानिसबीच प्रसारणको कारण भएको पुष्टि गरेको थियो ।

वुहान म्युनिसिपल हेल्थ कमिसनले वुहानमा कम्तीमा १५ जना चिकित्सा कर्मचारीलाई यो भाइरसले सङ्क्रमित गरेको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर छ । यो भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचारको क्रममा सबैलाई छुट्टाछुट्टै राखिएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याको कारण बन्ने यो भाइरस जापान र थाइल्याण्डपछि दक्षिण कोरिया पनि पुगिसकेको छ । मुख्यतया बेइजिङ र शङ्घाईसहित चीनका प्रमुख शहरहरुमा दुई सय जनाभन्दा बढी मानिसमा यसको सङ्क्रमण देखिएको छ ।

योसँगै कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट