नेकपाको आचारसंहिता अनुसार अब कसैलाई ‘तँ’ भन्न नपाइने

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी कार्यकर्ताले कसैलाई पनि ‘तँ’ भन्न नपाइने गरी ११ बुँदे आचारसंहिता जारी गरेको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सर्कुलरमा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउन ‘उर्दी’ जारी गरेको हो । नेकपाको आचारसंहितामा परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण हुनुपर्ने, सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने घरको कामको कार्यविभाजन गर्नुपर्ने, अप्ठ्यारो कामको जिम्मा आफूले लिनुपर्ने, कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्ण रुपमा बन्द गर्नुपर्ने उल्लेख छ ।

यस्तै छोरीछोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्ने, जन्मदिन, व्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित राख्नु पर्ने लगायत नेकपाले महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने बताएको छ । यस्ता कार्यक्रममा मद्यपान, धुमपान वा छाडा व्यवहार गर्न प्रतिबन्ध लगाउनुपर्ने भन्दै नेकपाले मनोरञ्जनका निम्ति शुभकामना आदानप्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ ।

पार्टीले जारी गरेको आचारसंहिता पालना नगर्ने र पटकपटक सचेत गराउँदा पनि नसुध्रिने सदस्यलाई कानूनसँग सवालमा कानून बमोजिम र पार्टी अनुशासनसँग सम्बन्धित विषयमा पार्टी विधान, नियमावली र निर्णय अनुसार कारबाही गरिने समेत अध्यक्षद्धयको सर्कुलरमा उल्लेख छ । नेकपाले महिला हिंसा वा छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा पार्टीबाट निस्कासन गर्ने र जनप्रतिनिधिमुलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउने समेत बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट