ज्ञानेन्द्रपुत्री प्रेरणालाई ३५ दिनभित्र जग्गा खाली गर्न सूचना

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार

काठमाडौं । नेपाल ट्रष्टले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी देवी सिंहलाई छाउनीस्थित १५ रोपनी जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको छ ।

ट्रष्टले काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित कित्ता नम्बर २५ को १५ रोपनी एक आना एक पैसामा रहेको कम्पाउण्ड वालसहितको विजया घरसमेतको जग्गा धनी प्रमाण पुर्जा नेपाल ट्रष्टको कार्यालयको नाममा कायम भइसकेको जनाउँदै घर–जग्गा खाली गराउन सूचना जारी गरेको हो ।

दाइजोमा पाएको जग्गा भन्दै प्रेरणाले जग्गा फिर्ता गर्न मानेकी छैनन् । दाइजोमा पाएको जग्गा आफ्नो हक लाग्ने भन्दै प्रेरणाले अदालतमा दिएको रिटमा तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमशेर राणा हाल (प्रधान्यायाधीश) को संयुक्त विशेष इजलासले २०७२ असार ६ मा प्रेरणाकै पक्षमा निर्णय दिएको थियो।

फैसला त्रुटीपूर्ण रहेको भन्दै नेपाल ट्रष्टको कार्यालयले दिएको पुनरावलोकनमा २०७३ पुस २१ गते अघिल्लो फैसला उल्ट्याउँदै तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरू दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले उक्त घर–जग्गा दाइजो नठहरिने निर्णय सुनाएको थियो।

पूर्ण इजलासको फैसला कार्यान्वयनका लागि ट्रष्टले पत्र काटेपछि ‘गैरकानुनी’ भन्दै प्रेरणाले फेरि अर्को रिट दिइन्। पछिल्लो रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले अघिल्लो फैसलाको मिसिल झिकाउने आदेश गरेको छ ।

प्रेरणाको यो रिट संवैधानिक इजलासमा विचाराधीन रहेकै अवस्थामा ट्रष्टले उक्त जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट