माघे संक्रान्तिका लागि १० करोडको तरुल कारोबार

प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार

काठमाडौं । माघ १ गते मनाइने माघी अथवा मकर संक्रान्तिमा तरुल, घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास पनि छ।

माघे संक्रान्तिका लागि कालीमाटी बजारमा झण्डै १५ सय टन तरुल भित्रिएको छ । गत वर्षको माघे संक्रान्तिका लागि भनेर ७ देखि ८ सय टन तरुल मात्रै भित्रिएको थियो । पोहोरको तुलनामा तरुलको भाउ यसपटक किलोमा १५, २० रुपैयाँ बढी भए पनि कारोबार भने बढेको व्यवसायीले बताएका छन् ।

माघे संक्रान्तिमा धेरै खपत हुने भएकाले यो चाँडलाई लक्षित गरी १० करोडको तरुलको कारोबार हुने गरेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।काठमाडौंमा तरुलको कारोबार बढे पनि पिँडालु र सखरखण्डको कारोबार भने खासै घटबढ भएको छैन ।

नेपालमा माग हुनेमध्ये धेरै तरुल नेपालमै उत्पादन हुने गरेको छ भने केही भारतबाट आयात हुने गरेको छ । यो पुस महिनामा कालिमाटीमा सबैभन्दा धेरै सर्लाहीबाट तरुल भित्रिएको छ भने नवलपरासी, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट पनि तरुल आयात भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट