अष्ट्रेलिया: विनाशकारी डढेलोले ५० करोड जनावरको जलेर मृत्यु (तस्बिरहित)

प्रकाशित मिति: २१ पुष २०७६, सोमबार

सिड्नी । गत सेप्टेम्बरदेखि अष्ट्रेलियाको जंगलमा लागेको डढेलोले ठूलो क्षति भइरहेको बेला आज त्यहाँ वर्षा भएको छ । अष्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा भएको वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ ।

तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अष्ट्रेलियामा विकराल रुप लिएको छ । डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् । डढेलोले करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् ।

यो डढेलो अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको छ । डढेलोबाट कम्तीमा २४ जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै ५० लाख हेक्टरमा लगाइएको अन्नबाली नष्ट भइसकेको छ । चार महिनासम्म पनि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यहि वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी सरकारी अधिकारीको छ ।

डढेलोमा परेर मरेका जनावरहरुको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । आगलागीमा फसेका जनावरहरुलाई बचाउन कैयौँ संस्था लागिपरेका छन् । आगलागीका कारण अहिलेसम्म अष्ट्रेलियाको १५ मिलियन एकड क्षेत्रफल जङ्गल खरानी भइसकेको छ । आगलागीका कारण हावा र विषालु धुँवाका कारण पूर्वी तटमा रहेको इलाकामा जीवनयापन निकै मुश्किल भएको छ । मानिसहरु घर छोडेर भागिरहेका छन् । मृतकको संख्या लगातार बढिरहेको छ । अष्ट्रेलिया सरकारले थुप्रै इलाकामा संकटकालको घोषणा गरेको छ ।

भिक्टोरियाको स्थिती थप भयानक छ । शनिबार तीब्र गतिको हावाका कारण आगो थप फैलिएको छ । बढ्दो तापक्रमका कारण अग्नी नियन्त्रणमा खटेका समूहले ठूलो समस्या व्यवहोर्नुपरेको छ । थुप्रै स्थानमा तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुगेको छ । मौसम विभागका अनुसार हावाले थप आगो फैलाइरहेको छ । यसबाट आउने धुँवाले उद्दार कार्यमा बाधा पुर्याइरहेको छ । आगोका कारण हज्जारौं मानिसहरु घर शहर छोडेर शरणार्थीको रुपमा बस्न बाध्य भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट