तल्लो सदनबाट पारित भयो ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव

प्रकाशित मिति: ३ पुष २०७६, बिहीबार

काठमाडौं । अमेरिकाको तल्लो सदन(हाउस अफ रेप्रिजेन्टिटिभ)मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव पारित भएको छ।

नेपाली समयअनुसार बिहीबार बिहान तल्लो सदनमा भएको मतदानमा ट्रम्पको पक्षमा २३० मत र विपक्षमा १९७ मत खसेपछि महाभियोग प्रस्ताव पारित भएको हो। ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो ।

तल्लो सदनबाट प्रस्ताव पारित भएपछि अब माथिल्लो सदनमा कारवाही प्रक्रिया अघि बढ्नेछ । अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्ने बीबीसीले उल्लेख गरेको छ।

ट्रम्प अमेरिकी संसदको तल्लो सदनबाट महाभियोग लगाइएका तेस्रो राष्ट्रपति बनेका छन्। यसअघि एन्ड्रयू जोनसन र बिल क्लिन्टनले महाभियोगको सामना गरेका थिए। उनीहरुले सदनले महाभियोग प्रस्ताव पारित नगर्दै पदबाट राजीनामा दिएका थिए।

सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ। राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट