प्रहरीद्वारा बलात्कारीलाई घटनास्थल लगेर इन्काउन्टर

प्रकाशित मिति: २० मंसिर २०७६, शुक्रबार

हैदराबाद । भारतको हैदराबाद प्रहरीले एक पशु चिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार जना आरोपीलाई घटनास्थलमा लगेर इन्काउन्टर गरेको छ ।

उक्त घटना २६-२७ नोभेम्बरको हो । यी चार जना आरोपीहरुले २७ वर्षीया भेटनरी डाक्टरलाई बलात्कार गरी उनको शरीर जलाइदिएका थिए । घर फर्किरहेकी डाक्टर स्कुटर पन्चर भएपछि एउटा टोल प्लाजामा बसेका बेला ट्रक ड्राइभर र क्लिनर रहेका आरोपीहरुले सामूहिक बलात्कार गरी शरीर जलाइदिएका थिए । केही दिनपछि एक निर्माणाधिन पुलको तल आधा जलेको अवस्थामा ती महिला डाक्टरको शव भेटिएको थियो ।

घटनापछि प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको थियो । शुक्रबार राति चारै अभियुक्तलाई महिला डाक्टरको शव जलेको अवस्थामा बरामद भएको ठाउँमा लगिएको थियो । त्यहाँ अभियुक्तहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि उनीहरुमाथि प्रहरीले गोली प्रहार गरेको हो । घटनास्थलमा अपराधको सिन तयार पार्नका लागि प्रहरीले बलात्कार अभियोग लागेका चारै जनालाई शुक्रबार बिहान लगेको थियो । तर आरोपी भाग्न खोजेपछि प्रहरीले गोली ठोकेको थियो ।

चारै जनाको मृत्यु भएको छ । उनीहरुलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएर १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो । घटनामा दुई प्रहरी घाइते भएको भारतीय मिडियाले जनाएका छन् । घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ ।

महिला पशु चिकित्सकको बलात्कारपछि हत्या भएको विरोधमा भारतभर प्रदर्शन भएको थियो । सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो । अहिले देशभर प्रहरीको इन्काउन्टरको स्वागत गरिएको छ । इन्काउन्टरपछि ती महिला डाक्टरका बुवाले ‘छोरीको आत्माले शान्ति पाएको’ प्रतिक्रिया दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट