गोपीले दिलाए ५ हजार मिटर दौडमा नेपाललाई स्वर्ण

प्रकाशित मिति: २० मंसिर २०७६, शुक्रबार

काठमाडौं । नेपालका लागि गोपीचन्द्र पार्कीले सागअन्तर्गत एथ्लेटिक्सको पुरुषतर्फ ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको प्रतियोगितामा गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा दौड पूरा गरेर स्वर्ण जितेका हुन् । जारी सागमा नेपालले एथ्लेटिक्समा दोस्रो स्वर्ण जितेको हो ।

यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । योसँगै जारी सागमा नेपालले स्वर्ण पदकको संख्या ३७ पुर्‍याएको छ ।

गोपीसँगै यो स्पर्धामा भारतका सुनील दावाले १४ मिनेट ५५.२१ सेकेन्डमा दौड पूरा गरेर रजत पदक पाएका छन् । यसैगरी नेपालका हरिकुमार रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरेर कास्य पदक जितेका छन् ।

५ हजार मिटर पुरुषमा यो नेपालको पहिलो स्वर्ण हो । यसअघि २००६ मा राजेन्द्र भण्डारीले स्वर्ण जितेका थिए । तर डोपिङमा परेपछि उनको पदक खोसियो । १३ वर्षअघि नेपालबाट खोसिएको स्वर्ण फेरि फिर्ता ल्याउन सफल हुँदा गोपी निकै खुसी छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट