बैतडी डिलाशैनीका युवाले बुझाए संघीय मामिला मन्त्रीलाई ज्ञापनपत्र

प्रकाशित मिति: २ मंसिर २०७६, सोमबार

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाका युवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । डिलाशैनी गाउँपालिकाको स्थायी केन्द्र सञ्चालन गर्ने विषयमा लामो समयदेखि आन्दोलनरत युवाहरूले ज्ञापन बुझाएका हुन् ।

सोमबार मन्त्री पण्डितको कार्यकक्षमा गएर डिलाशैनी संघर्ष समितिका संयोजक जयराज जोशी लगायतका युवाहरूले विगतमा राज्य पुनर्संरचना आयोग, विज्ञ टोलीको रायसुझाव तथा सर्वपक्षीय सर्वदलीय निर्णय, डिलाशैनी गाउँपालिकाको कार्यपालिकाको निर्णय र आम गाउँपालिकाबासीको मागलाई बेवास्ता गरी वडा नम्बर ७ मा कार्यालय सञ्चालन नगरीकन गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई घरपायक पर्ने र केही राजनीतिक व्यक्तिको निहित स्वार्थका कारण वडा नम्बर ३ मा सम्पर्क कार्यालय सञ्चालन गरिरहेको कुरा राखेका छन् ।

स्थायी केन्द्र स्थापनाका लागि गाउँपालिकाले अनुरोध गरेअनुसार स्थानीय बासिन्दाले वडा नम्बर ७ मा करिब ८० रोपनी जग्गा समेत उपलब्ध गराइसकेको ज्ञापनपत्रमा उल्लेख छ । आम जनताले विगतका निर्णय कार्यान्वयन हुनुपर्ने माग राखी आन्दोलन गर्दा ७ नम्बर वडामा कार्यालय स्थापनाका लागि घरभाडामा लिएर १ दिन पनि त्यहाँबाट सेवाप्रदान नगरिएको संघर्ष समितिका संयोजक जोशीले बताए ।

जनतालाई सेवाप्रवाह नगरी केवल घरभाडामा लिएर अनुत्पादक र अनुपयोगी रुपमा राज्यस्रोतको दोहन भैरहेको संयोजक जोशीको टिप्पणी छ । उनले सम्पूर्ण डिलाशैनी गाउँपालिकाको हितमा विगतमा गरिएका निर्णयका आधारमा समेत वडा नम्बर ७ मा स्थायी केन्द्र स्थापनाको पहलका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितलाई ज्ञापनपत्र बुझाएको बताए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पण्डितले आफूले तत्काल पहल गर्ने आश्वासन दिएको बताउदै संयोजक जोशीले भने,- मन्त्रीजी हाम्रो मागप्रति अत्यन्तै सकारात्मक र गम्भीर देखिनुभयो, उहाँले तत्काल पहल गर्ने आश्वासन दिनुभएको छ । ज्ञापन बुझाउने क्रममा डिलाशैनीका उपेन्द्र विक्रम पुरुष, हरिप्रसाद जोशी, प्रकाशमणि भट्ट लगायतको उपस्थिति रहेको थियोे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट