लिम्पियाधुरा, कालापानी र लिपुलेकको वास्तविकता

प्रकाशित मिति: २९ कार्तिक २०७६, शुक्रबार

सन १९५० को दशकको उत्तरार्धदेखि नै भारतको इण्डो टिब्बेटियन बोर्डर पुलिस, बस्दै आएको छ । कालापानीको मुख्य विवाद महाकालीको मुहान सम्बन्धमा नै देखिने गर्दछ । महाकालीको वास्तविक मुहान लिम्पियाधुरा नै हो भन्ने तथ्य इतिहासविद्, नक्साविद्, जलविज्ञानविद् र अनुसन्धानकर्ताहरुले समयसमयमा सार्वजनिक गर्दै आएका छन् । भारतीय पक्षले वास्तविक कालापानीभन्दा दक्षिणतिर एउटा काली मन्दिर निर्माण गरी त्यसको नजिकै एउटा पोखरी खनेर त्यही सानो पोखरीमा जम्मा गरिएको पानीबाट निस्केको मुललाई काली नदिको मुहान र त्यही पानी लिपुनदीमा मिसाएर त्यसैलाई काली नदी भन्दै आइरहेको छ । भारतको त्यही दाबीका आधारमा उसले सुगौली सन्धिदेखि नै नेपालको भू-भागका रुपमा रहेका कालापानी, तुल्सीन्युराङ, नाबी, गुंजी, कुटी जस्ता बस्तीहरुमा सैनिक क्याम्प खडा गरी बसेको छ ।

भारतले बताउदै आएको कालीको नक्कली मुहान सानो पोखरी खन्ने काममा दार्चुलाका गगनसिंह ऐतवाल आफैं सक्रिय थिए । ऐतवाल भारतीय सेनामा कार्यरत छँदा नै त्यो नक्कली मुहान खन्न उनीसहितको सैन्य दस्ता काममा लगाइएको थियो । सन १९७० को पूर्वाधसम्म अहिले अतिक्रमणको चपेटमा परेका पाँच गर्खाका नामले प्रसिद्ध नावी, गुंजी, कुटी, गर्ब्याङ, छाङरु र टिङ्कर हाम्रै भूमि हुन् भन्ने कुरा प्रचलित लोकमत पाँच गर्खाले समेत पुष्टि गर्दछ । यस लोकमतको सुक्ष्म अध्ययन गर्दा पनि कुटीदेखि कालापानीसम्मको भू-भाग भारतले मिचेको वा अतिक्रमण गरेको प्रष्ट हुन्छ ।

खासगरी सन १९६२ को लडाइँमा पराजित भएपछि चीनमाथि आक्रमण गर्न र निगरानी राख्न दुवै दृष्टिकोणले उपयुक्त स्थलको महसुस गरी कालापानी कब्जा गरी बसेको हो भारत । दुवै राष्ट्रका सीमाविदहरुको संयुक्त समिति मार्फत समस्याको टुङ्गो लगाउने समझदारी सरकारी स्तरमा हुँदै आए पनि दुवै देशका अधिकारीको स्वपक्षीय अडानका कारण निकास पाउन सकिरहेको छैन । भारतीय पक्षले मेची पुर्वोत्तर क्षेत्रबाट सीमांकन आरम्भ गर्नुपर्ने अडान राख्दै आएको छ भने नेपालले पश्चिम लिम्पियाधुराबाट सीमांकन सुरु गर्नुपर्ने सुझाव दिँदै आइरहेको छ । पूर्वबाट सीमांकन थालिए आफूले थोरै मात्र भू-भाग छाड्नुपर्ने, बढी छाड्नुपर्ने अवस्था सिर्जना भए सो स्थानको विवाद साबिककै रहनदिई नेपाली पक्षलाई मनाउने प्रयास गरी त्यत्तिकै छाडिदिने र पश्चिमबाट सीमांकन थालिए एकैपटक ३७ हजार हेक्टर छाड्नुपर्ने कारण भारतीय अधिकारीहरु यो विवाद सुल्झाउने मनस्थितिमा रहदैनन्।

२०५३ सालमा नारायण वाग्लेले कान्तिपुरमा कालापानी सम्बन्धि स्थलगत रिपोर्ट छापेपछि यसले ब्यापकता पायो । समयसमयमा छलफल अन्तरक्रिया हुन थाले । २०३८ सालमा सरकारी टोलीद्वारा गरिएको अध्ययनले पनि कालापानी नेपालकै भूगोल रहेको तथ्यपूर्ण निष्कर्ष निकाल्यो । २०५३ साल साउन ३० गते दार्चुला पश्चिमोत्तर सीमानाको निरिक्षणका क्रममा तत्कालीन जलस्रोत मन्त्री पशुपतिशमशेर राणाको टोली समेत कालापानी लगायतका भू-भाग नेपालकै रहेको तथ्यमा पुगेको थियो । त्यसैताका तत्कालीन एमाले नेता प्रेमसिंह धामीले सदनमा काठमाडौंलाई कालापानी किन दुख्दैन भनेर कुरा राखे र सोहि सन्दर्भमा गोरखापत्रमा लेख लेखेपछि यसले राजनीतिक वृत्तमा हलचल पैदा गरेको थियो ।

२०५२ साल माघ २९ गते भएको महाकाली सन्धिकाविरुद्ध लागेका बामदेव गौतम समूहको विद्यार्थी नेता अहिलेका पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा २०५५ साल जेठ २२ गते कालापानी पुगी ६ सय मिटर वरै नेपाली झण्डा गाडेपछि भारतीय पक्षले त्यही झण्डा गाडेको ठाउँसम्म कब्जा जमायो । वर्तमान नेपालको सीमाना पूर्वमा मेची र पश्चिममा काली नदी निर्धारण गर्ने ४ मार्च १८१६ को सुगौली सन्धिको धारा ३ को दफा ५ को १ मा उल्लिखित Lying to the west of the Kali वाक्यांशले काली पश्चिममा रहेका भन्ने अर्थ निस्किन्छ । यसरी सुगौली सन्धिमा नेपालले काली पश्चिमका भू-भाग छाड्नुपर्ने उल्लेख भएबाट कालापानी, लिपुलेक मात्रै होइन महाकाली नदी सिङ्गो नेपालकै भएको प्रमाणित हुन्छ । सुगौली सन्धिले सिङ्गै काली नदि नेपालकै भएको पुष्टि गरेको सन्दर्भमा गिरिजाप्रसाद कोईरला, शेरबहादुर देउवा, माधवकुमार नेपाल, केपी ओली लगायतको सक्रियतामा भएको महाकाली सन्धिको प्रस्तावनामै उल्लिखित अधिकाँश ठाउँमा सीमानदी भन्ने वाक्यांशले बाँकी ठाउँमा नेपाल या भारत कसको हो भन्ने भ्रम पैदा गरेको छ । यही भ्रमका कारण भारतीय पक्षले काली नदी र यसको मुहान सम्बन्धमा दादागिरी देखाउदै आएको छ ।

२०१८ सालमा वरिस्ठ पत्रकार भैरव रिसालको नेतृत्वमा पाँच गर्खा(नाबी,गुंजी,कुटी,गर्ब्याङ, छाङरु)मा जनगणना भएको थियोे । पाँच गर्खाको तिरो तिरेको मोठ बैतडी मालपोत कार्यालयमा अद्यापि छदैछ । भारतसँग भएका यस सम्बन्धी तथ्य र प्रमाण उसैको पक्षमा छैनन् । यसअघि भारतले बनाएका नक्सामा पनि कालापानी नेपालभित्रै पर्दछ । हाल अतिक्रमणमा परेका पाँच गर्खा लगायतका ठाउँमा सयौं वर्षदेखि नेपालीको भोगचलन र स्वामित्व रहिआएकोछ । अहिले दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट ८२ किलोमिटर उत्तर छाङरुदेखि १५ किलोमिटर पश्चिम-उत्तर र समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित कालापानीको दाहिने तर्फको मैदानभन्दा उत्तरतिर भारतीय विशेष प्रहरी बल, इण्डो-टिब्बेटियन बोर्डर पुलिसका सैन्य क्याम्प रहेका छन् ।

सन् १८२७ मा बेलायतले प्रकाशित गरेको नक्सा, सन् १९६७ मा टार्सनले हातले बनाएको नक्सा, सन् १८४० मा क्यू.एम. जनरल अफिस इण्डियाको नेपाल सरकारले समेत स्वीकृति दिएको नक्सा, लण्डनस्थित इण्डिया अफिस लाइब्रेरी एन्ड रेकर्ड्समा संरक्षित सन १८५५ को जिओलोजिकल सर्भे अफ इण्डियाको नक्सा र वेइजिङस्थित नेशनल लाइब्रेरी अफ चाइना तथा स्टेट ब्युरो अफ सर्भेइङमा रहेको नक्सा अनुसार कालापानीभन्दा ३१२ किलोमिटर उत्तरपश्चिम लिम्पियाधुरासम्मको भू-भाग समेत नेपालकै भएको प्रमाणित हुन्छ ।

यसबाहेक सन १९०३, १९२१ को चिनियाँ नक्सा, १९३४ को जापानले प्रकाशित नक्सा, १८१६ मा ए.एरोस्मिको नक्सा, १९३१ मा प्रकाशित कन्टुरको नक्साले पनि महाकालीको मुहान लिम्पियाधुरा प्रमाणित गर्दछ । भारतले बनाएको नक्कली मुहान नजिकैको कृत्रिम कुवा खन्ने भारतीय सेनामा कार्यरत गणेशसिंह ऐतवाल र उक्त कुवा नजिकै बनाइएको मन्दिर बनाउने जशराज सिंह बोहरा दार्चुलाका बासिन्दा हुन् । यी दुईजना भारतले बनाएको नक्कली कालीको मुहानका सबैभन्दा नजिकका बलिया प्रमाण हुन् ।

(लेखक माटो बचाउ अभियान-२०६६ का प्रणेता हुन् ।)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट