बालविवाह गराउने पण्डितलाई कारवाही हुने

प्रकाशित मिति: २४ कार्तिक २०७६, आईतवार

जाजरकोट । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेपछि जाजरकोटका पण्डितहरुले केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्ने भएका छन् । पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले प्रहरीसँगको सहकार्यमा विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएका हुन् ।

एक तथ्याङ्कअनुसार जिल्लामा १९ वर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाको विवाह हुने गरेको छ । उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्धविच्छेदलगायत घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहितलाई प्रशिक्षण दिएर यस्तो प्रतिबद्धता गराएको हो । जिल्लाका १५ पुरोहितको सहभागिता रहेको सो प्रशिक्षणमा बालविवाहले आमा र शिशुको स्वास्थ्यमा देखापर्न सक्ने असर, सामाजिक समस्या, रोजगारीमा पर्ने असर र नियन्त्रणका उपायबारे छलफल भएको थियो ।

प्रहरीले जिल्लामा आमा समूह र स्कूले विद्यार्थीलाई पनि बालविवाहविरुद्ध प्रशिक्षण दिइरहेको छ । उमेर नपुगेकाको विवाह गराउने पुरोहित, लमी र अभिभावकलाई तीन वर्षसम्म कैद र रू ३३ हजार जरिवानाको कानूनी व्यवस्था छ । बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतिमा मागी विवाह वा भागी विवाह गर्ने गर्दछन् । त्यसपछि सामाजिक परम्पराअनुसार पुरोहित बोलाएर विधिपूर्वक सिन्दूर हालेपछि विवाहले वैधता पाउने चलन बढेकाले यसलाई चिर्न यस्तो अभियान चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।

३० वर्षदेखि पुरोहितको काम गर्दै आएका भेरी नगरपालिका मटेला निवासी सत्यप्रसाद शर्माले प्रहरीको प्रशिक्षणले आफूहरुको आँखा खोलिदिएको र पण्डितहरुको इमान्दारिताले मात्र पनि बालविवाह निकै घट्ने विचार व्यक्त गरे । उनले भने उमेर नपुगेका केटाकेटीले विवाह गरिदिनु प¥यो भनी बोलाए भने हामी जाँदैनौ, उल्टै सम्झाएर पठाइदिने अभियानमा लाग्छौ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट