चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

प्रकाशित मिति: २६ आश्विन २०७६, आईतवार

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश प्रस्थान गरेका छन्। दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर विदाइ गरेकी हुन्।

शनिबार अपराह्न नेपाल ओर्लिएका सी आइतबार दिउँसो एयर चाइनाको विशेष विमानमार्फत बेइजिङ फर्किएका हुन्।
भ्रमणका क्रममा राष्ट्रपति सीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, सत्तारूढ दलका नेतालगायतसँग भेटवार्ता गरेका थिए।

सीको विदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। सो क्रममा नेपाली सेनाले सलामी अर्पण गरेको थियो। सांस्कृतिक झाँकी र कार्यक्रमसहित विमानस्थलमा सीको विदाइ गरिएको हो। २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएको हो।

राष्ट्रपति सीको भ्रमणको दौडान नेपाल र चीनबीच १८ वटा समझदारीका दस्तावेज र दुइवटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर तथा आदानप्रदान भएका छन्। राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार समझदारीपत्र आदानप्रदान भएको थियो।

दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ। त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ ।

नेपाल र चीनबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा आज नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवर्द्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा काम गर्ने सहमति भएको बताइएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट