नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिलाई भव्य स्वागत

प्रकाशित मिति: २५ आश्विन २०७६, शनिबार

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजकीय भ्रमणमा काठमाडौं आइपुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी एयर चाइनाको विशेष विमानबाट शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाडौं आइपुगेका हुन् । २३ वर्षपछि नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति दुईदिनसम्म नेपालमा रहने छन् ।

राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गरेका थिए । चिनियाँ राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी छन् ।

राष्ट्रपति सीको यो भ्रमणलाई नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अभिवृद्धिमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी सीबीच आजै राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता हुनेछ भने चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले शनिबारै साँझ राजकीय भोजको आयोजना गरिने छ ।

राष्ट्रपति सीलाई विमानस्थलबाट उनलाई आतिथ्य एवं आवासको व्यवस्था गरिएको स्थलसम्मका सवारीमार्गका दायाँबायाँ नेपाल सरकारका कर्मचारी, विभिन्न शैक्षिक प्रतिष्ठानका विद्यार्थीसहित विशाल जनसमुदायले नेपाल र चीनका झण्डा फहराउँदै स्वागत गरेका थिए । विमानस्थलदेखिदेखि सोल्टी होटलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले राष्ट्रपति सीको स्वागत गरेका थिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट