आज बडादशैँ, टीकाको साइत १० बजेर ३५ मिनेटमा

प्रकाशित मिति: २१ आश्विन २०७६, मंगलवार

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं आज मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ ।

आजको दिन घरघरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसूरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन हो ।

त्रेता युगमा यसै दिन भगवान रामले असत्यको प्रतीकका रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

नेपाल पञ्चाङग निर्णायक समितिले यसवर्षको दशैँ टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । दशैँको टीका कोजाग्रत पूर्णिमासम्म पनि लगाउने चलन छ । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा टीका, जमरा तथा प्रसाद थापी ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ । राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ ।

विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट