रिपोर्टर नेपाल समाचार
भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित महेश्वरी खेल मैदान वरपरको चौर बाटोहरुमा दशैँका लागि एक हजारभन्दा बढी राँगाहरु भित्र्याइएको व्यापारीहरुले बताएका छन् ।
दशैँका लागि भक्तपुरमा राँगाको मासुको खपत अत्याधिक हुने गर्छ । नवमीका दिन नवदुर्गा मन्दिरमा राखेका खँमे जात्रा अर्थात राँगो जात्रा गरी ब्रम्हायनी मन्दिर लगेर नवदुर्गा गणले राँगो बलि दिने चलन छ ।
राँगालाई महिसासुर दैत्यको रुपमा लिने भएकाले पनि फुलपातीदेखि नवमीसम्म नै विभिन्न गुठी समुहहरुले टोल-टोलमा सामुहिक रुपमा राँगा कट्ने परम्परा रहेको छ ।
भक्तपुरमा पूर्वी जिल्लाका रामेछाप र तराईका विभिन्न जिल्लाबाट समेत राँगाहरु भित्र्याइएका छन् । ती राँगा न्युनतम २० हजारदेखि एक लाख रुपैयाँ सम्मामा बिक्री हुने गरेको स्थानीय व्यापारीहरुले बताए ।