सरकारले तोक्यो जिउँदो खसी,बोका तथा च्याङ्ग्राको मूल्य

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँलाई लक्षित गरेर खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ ।

कम्पनीको थापाथलीस्थित कार्यालयबाट आजदेखि खसी, बोका तथा च्याङ्ग्रा बिक्री वितरण सुरु गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा उपभोक्तालाई थारै भए पनि राहत दिन खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरिएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले जिउँदो खसीबोका ५ सय ५० रुपैयाँ प्रतिकेजी र जिउँदो च्याङ्ग्रा ७ सय ३० रुपैयाँ प्रतिकेजी तोकिएको जानकारी दिए । उनका अनुसार खसीबोकाको मूल्य पाँच सय ६० रुपैयाँ निर्धारण गरिए पनि दशैँको अवसरमा सहुलियत दरमा सर्वसाधारणलाई वितरण गर्न प्रतिकिलो १० रुपैयाँ छुट र च्याङ्ग्राको पनि सात सय ४० रुपैयाँमा १० रुपैयाँ छुट गरी बिक्री वितरण गरिएको छ ।

यस वर्षका लागि कम्पनीले काठमाडौं उपत्यकामा झण्डै तीन हजारको सङ्ख्यामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एक हजार ९२० च्याङ्ग्रा र झण्डै एक हजार खसी, बोका राजधानी ल्याइँदै छ । कम्पनीले बिक्री गर्ने सहुलियतको खसी, बोका तथा च्याङ्ग्रामा व्यापारीको प्रवेश निषेध गरिएको छ । अहिले राजधानीका अन्य खसीबजारमा जिउँदो खसी, बोका ६५० रुपैयाँ र च्याङ्ग्रा ७५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट