ह्वात्तै बढेको प्याजको भाउ दशैँसम्म नघट्ने

प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार

काठमाडौं । भदौको अन्तिमतिर किलोको एक सय रुपैयाँसम्ममा पाइने प्याज असोज लागेपछि एक सय २५ रुपैयाँ खुद्रा मूल्य पुगेको छ ।

भारतमा प्याजको उत्पादन घटेर आयात कम भएकाले भाउ महँगो भएको व्यवसायी बताउँछन् । नेपाली बजारमा पाइने प्याज धेरैजसो भारतबाट नै ल्याउने गरिएकाले भारतमा उत्पादन नबढ्दासम्म भाउ नघट्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले बताए ।

केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्रका अनुसार ९० प्रतिशतभन्दा धेरै प्याज भारतबाटै आयात हुन्छ । काठमाडौंको कालिमाटीमा मात्रै दैनिक १८ देखि २० टन प्याज भारतबाट आयात हुने गर्छ । हिजोआज भने आयात घटेर ८ देखि १० टन मात्रै रहेको व्यवसायीले बताएका छन् ।

बुधबार भने प्याज किलोको एक सय १५ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । यो मूल्य मंगलबारको मूल्यको तुलनामा कम हो । तर खुद्रा व्यवसायीले भने समितिले तोकेभन्दा अझै महँगोमा प्याज बेच्दा उपभोक्ता मर्कामा पर्ने गरेका छन् । कालिमाटीमा एक सय १५ रुपैयाँ खुद्रा मूल्य तोकिए पनि बाहिरका खुद्रा व्यापारीले भने एक सय ३० देखि एक सय ४० रुपैयाँसम्म पनि लिने गरेका छन् ।

स्वदेशी उत्पादनले नपुग्ने भएकाले प्याजका लागि भारतकै भर पर्नुपर्ने बाध्यता अझै कायमै छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट