यस्तो छ, सी जिनपिङ विचारधारा प्रशिक्षणको भित्री रहस्य !

प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा नेपालको राजधानी काठमाडौंमा आयोजना गरिएको चिनिया राष्ट्रपति सी जिनपिङको विचारधारा प्रशिक्षण कार्यक्रम यतिबेला चर्चामा छ । कतिपयले यसलाई चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्व तयारीका रुपमा अर्थाएका छन् भने कतिपयले दुई कम्युनिष्ट दल एवम् सरकारबीच सम्बन्ध थप मजबुत बनाउन गरिएको कुटनीतिक प्रयासका रुपमा पनि लिएका छन् । सतहमा कुनै टिप्पणी गर्नु भन्दा पहिले नेपालमा दुई शक्तिशाली कम्युनिष्ट पार्टी तत्कालीन नेकपा एमाले र एकिकृत माओवादी एकिकरणले पूर्णता पाउँदै गर्दा नेपाल कम्युनिष्ट पार्टीका लागि सी जिनपिङको विचारधाराको प्रशिक्षण किन आवश्यक पर्यो ? यसबाट चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्टको सम्बन्ध कस्तो हो ? र दुई देशका दुवै सत्ताधारी कम्युनिष्ट पार्टीबीच हुने यस प्रशिक्षणले अन्य देशसँगको परराष्ट्र सम्बन्धमा कस्तो प्रभाव पर्ला भन्ने विषय केलाउन आवश्यक छ । सी जिनपिङका विचारधारा प्रशिक्षण भित्री रहस्य के हो त भन्ने विषयमा चर्चा गरौ ।

समृद्धिको सपनामा भर्‍याङको खोजी
दुई फरक-फरक मुलकका राजनीतिक दलहरुबीच कुटनीतिक सम्बन्ध रहनु, महाधिवेशनलगायत विशेष समारोहमा एकले अर्को दललाई निमन्त्रणा गर्नु स्वभाविक हो । तर विचारधाराको प्रशिक्षण दिने विषयले भने भिन्न अर्थ राख्छ । चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी दुवै सत्ताधारी कम्युनिष्ट पार्टी हुन् । दुवै कम्युनिष्ट पार्टी भए पनि कम्युनिष्ट शासन ब्यवस्थाको अभ्यासको शैली भने फरक-फरक छ । चिनियाँ कम्युनिष्ट पार्टी पूर्णतया माओवाद र देङ सिआओपिङले आर्थिक नीतिबाट निर्देशित छ । सी विचारधारा पनि देङ सिआओपिङको विचारधाराबाट धेरै नजिक छ । चीनमा सी को समाजवादको अवधारणा कार्यान्वयनमा लगिएको छ । तर नेपालमा कम्युनिष्ट पार्टीका नाममा कम्युनिष्ट समावेश भए पनि बहुदलिय प्रतिस्प्रधात्मक लोकतान्त्रिक शासन ब्यवस्था र सवैधानिक सर्वोच्चताको परिधिभित्र बाधिएको हाइव्रिड कम्युनिष्टको रुपमा रहेको छ । भलै अन्तिम गन्तव्य भने समाजवाद नै किन नहोस त्यहाँ पुग्ने बाटो चिनियाँ कम्युनिष्ट पार्टी भन्दा नेपाली कम्युनिष्ट पार्टिको विल्कुलै फरक छ ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७ दशक पूरा हुँदै गर्दा दुई तिहाइ बहुमतसहित सरकार गठनको अवसर नेपालका कम्युनिष्टहरुले पाएका छन् । एउटै दलको पूर्ण बहुमतसहित सरकार संचालनको दुर्लभ अवसर पाएको पनि अब दुई वर्ष बित्दै छ । तर गएको दुई वर्षमा कम्युनिष्ट सरकारबाट जनताले जे अपेक्षा गरेका थिए त्यसको संबोधन गर्न सरकारले सकिरहेको छैन । नेकपाले विकास समृद्धिबाट समाजवाद स्थापन गर्ने वेग्रल्ति सपनाहरु बाढिएका छन् । त्यो संवोधन गर्न बलियो राष्ट्रको साथ केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले खोजिरहेको छ । त्यसको उपयुक्त पात्र चीन हुन सक्ने निश्कर्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपा पुगेको र त्यसै अनुरुप सी विचारधारा वा मार्ग नै नेपालका लागि उपयुक्त हुने भनि चीनलाई खुसी पार्न खोजेको देखिन्छ । केही दिन अघि चिनायाँ विदेशमन्त्रीको नेपाल भ्रमणको समयमा इण्डोप्यासिफिक सम्बन्धमा प्रचण्डले दिएको अभिव्यक्तिले पनि नेपालले चीनको बलियो साथ एवम् विश्वास लिन खोजेको संकेत गर्दछ ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा प्रचण्डले सी जिनपीङको विचारधाराको रुपमा अघि आएको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई)ले नेपालको सडक विस्तार, कृषिको आधुनिकीकरणलगायत अन्य क्षेत्रमा पनि फलदायी हुने र धेरै लाभ लिने विश्वास ब्यक्त गरेका छन् । प्रशिक्षण उद्घाटनको पहिलो दिन पार्टीका दुवै अध्यक्षले आफ्नो सम्बोधनको क्रममा चीनको प्रंशसामा नै समय खर्चिए । एक चीन नीतिप्रति प्रतिबद्धता दोहोर्याउँर्दै नेपालको आकाश र भूमिबाट चीनविरुद्ध गतिविधि सैह्य नहुने समेत बताए । प्रधानमन्त्री केपी ओलीले भने ूमुलुकहरू बलियो हुँदा कहिलेकाहीँ अनपेक्षित रुपमा शक्तिको दम्भ पनि बढ्छ र तिनीहरूबाट असहज गतिविधि पनि हुने गर्छ। प्रायस् हामीले देख्दै आएको विषय हो। तर चीन शक्तिशाली देश भएर पनि त्यस्ता अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिवेश हो। कतिपय देशले शक्तिको दभ्म देखाएको भनि ओलीको गरेको टिप्पणी भारतलाई दिएको जवाफ हुन सक्ने विश्लेषण विश्लेषकहरुले गरेका छन् । यसैरी दुवै पार्टी अध्यक्षले चीनलाइ निकै महत्व दिनुले समृद्धिको सपना बाढेको कम्युनिष्ट सरकारले चीनसँग बलियो साथ खोजेको र त्यसका लागि चीनलाई विश्वासमा ल्याउन सकेमात्र त्यो साथ सहयोग मिल्ने निष्कर्षमा पुगेको स्पष्ट हुन्छ ।

अस्ताउँदो जबज उदाउँदो सी वाद
तत्कालिन नेकपा एमाले र एकीकृत माओवादी पार्टी एकिकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा पार्टीको वैचारिक सिद्धान्त वा वाद के रहने भन्ने विषयमा बहस अझ टुंगो लागेको छैन । नेकपाभित्रको एकपक्षले जनताको बहुदलिय जनवाद जबज नै पार्टीको सिद्धान्त हुनुपर्नेमा जोड दिएको छ भने अर्को पक्षले नौलो जनवाद पार्टीको मार्गदर्शन सिद्धान्त हुनपर्ने विचार राखिरहेको छ । पार्टी एकिकरण अन्तिम चरणमा आइसक्दा पनि पार्टीको सिद्धान्त, विचार के हो? र जनतामाझ जादा के लैजाने भन्ने कुरामा नेकपा अझै स्पष्ट हुन सकिरहेको छैन । यस्तो अवस्थामा चिनियाँ राष्ट्रपति सी को विचारधारा समेत फ्युजन गरेर नेपाली कम्युनिष्टका लागि नयाँ स्कुल अफ थट निर्माणका लागि प्रशिक्षण फलदायी हुने र त्यसले पार्टीको सिदान्त के हुने भन्ने विषयमा रहेको विवादलाई किनारा लगाउने अपेक्षासहित विचारधाराको आयतका लागि कार्यक्रम आयोजना गरिएको बुझाइ कतिपय छ । यसका साथै पार्टी अनुशासनमा कडाइ र नेता कार्यकर्तालाई पार्टीको निर्देशनप्रति प्रतिबद्ध बनाइ राख्न पनि सी को विचारधाराको प्रशिक्षण आवश्यक परेको देखिन्छ । दुई पार्टीको एकिकरण पछि नेकपा पार्टीमा खड्किएको विषय अनुशासन एवम् निर्देशनको पालना नहुनु नै हो । त्यसमा नेतृत्वले सी कै शैंली पछ्याउन उनको विचारधारा कार्यान्वयमा लगेको, जसले पार्टी अनुशासन बलियो बनाउन सी को विचारधाराको कार्यकर्ता र नेताका लागि प्रशिक्षणको आवश्यकता महसुश गरेको देखिन्छ ।

चीनमा सी को विचारधारा विधानमै समावेश भएपछि उनलाई निकै शक्तिशाली बनाएको छ भने पार्टीभित्रका प्रतिद्वन्दीलाई कमजोर तुल्याएको छ। सन् २०१३ मा महासचिव भएपछि नेता सी ले क्रमिक रुपमा सत्तामाथि आफ्नो नियन्त्रण बढाउँदै लगेका छन्। राष्ट्रपति सी लाई पार्टीभित्र वा बाहिरबाट दिइने कुनै पनि चुनौतीलाई कम्युनिष्ट पार्टीको शासनका निम्ति खतराको रुपमा लिइनेछ। त्यस्तै अधिनायकबाद शैलीबाट पार्टी संचालनको महत्वकांक्षा नेपाली कम्युनिष्ट नेताहरुमा नजागेको होला भन्न सकिदैन । कम्युनिष्टहरुमा अनुशासन भएन भने कुनै पनि रुपान्तरणको नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन । विचारको स्पष्टता र संगठनात्मक अनुशासन नै कम्युनिष्ट पार्टीको औचित्यका प्रमुख आधार हुन् । महासचिव सी जिनपिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको विकासको मूल आधार यसैमा निहित रहेको नेकपा अध्यक्ष प्रचण्डको भनाई छ । यसले पनि पार्टीमा देखिन लागेको अनुशासनहीनता र अराजकतालाई ठेगान लगाउन सी को विचारधारालाई ठाउँ दिन खोजिएको हो कि भन्ने विश्लेषण गरिएको छ ।

हङकङको झिल्कोले तिब्बतको चिन्ता !
चीन ताइवान र मकाउबाट अपराधिक सुपुर्दगीको अनुरोध आएमा हङकङ अदालतले हरेक मुद्दाका आधारमा गरेको निर्णयमा आधारित भएर सुपर्दगी गर्न सकिने व्यवस्था गरी विधेयक ल्याएसँगै हङकङमा चर्किएको विरोध प्रदर्शन प्रजातान्त्र स्थापनाको लडाइमा रुपान्तरणको प्रयास भइरहेको छ । उक्त कानूनले हङकङको न्यायिक स्वतन्त्रता थप खस्किने चिन्ताका साथ प्रदर्शन सुरु भएको थियो । जुन आन्दोलनले ठूलै रुप लियो । विरोध प्रदर्शनमा पश्चिमा देशहरुको उस्काहट रहेको आरोप चीनको छ । कुनै बेला हङकङ ब्रिटेनको उपनिवेश राज्य थियो र सन् १९९७ मा चीनलाई ूएक देश दुई प्रणालीूका रूमा फिर्ता गरिएको थियो। हाल हङकङमा भइरहेको आन्दोलन तिब्बतमा पनि हुन सक्ने र त्यसका लागि नेपालको भूमि प्रयोग हुन सक्ने प्रति चीन सचेत रहदै नेपाललाई आफ्नो पक्षमा राखी राख्न र त्यस्ता गतिविधि हुन नदिन सत्ताधारी दल नेकपासँग विशेष सम्बन्ध स्थापनामा चीन रहेको अनुमान गरिएको छ । चीनका लागि तिव्बतमा कुनै खतरा छ भने त्यो नेपाली भूमिबाट भारतीय एवम् पश्चिमा मुलुकले गर्ने चलखेल नै हो भन्ने निष्कर्षमा चीन पुगेको देखिन्छ । अघिल्ला वर्षहरुमा चीनले नेपालको राजनीतिक मामिलामा सुषप्त किसिमबाट प्रभाव राख्ने गरे पनि अब त्यसलाई लुकाइ राख्न आवश्यक नभएको, नेपालसँग प्रगाढ सम्बन्ध स्थापना गर्दै आफ्नो अनुकुलको वातावरण निर्माणमा लागेको पछिल्लो प्रमाणको रुपमा प्रशिक्षणलाई लिन सकिन्छ ।

अधिनायकवादको विस्तारको मोह !
पछिल्लो समय अमेरिकासँग चीनको व्यापार युद्ध तथा अमेरिकी नेतृत्वकै इन्डो-प्यासिफिक रणनीति आदि विषयमा अन्तर्राष्ट्रिय स्तरमै विवाद उत्पन्न भएको बेला कम्युनिष्ट शासन रहेका मुलुकहरूमा चीनले व्यवसायिक सम्बन्धको परिधिभन्दा माथि उठेको सन्देश दिन खोजेको पनि विश्लेषण गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको पछिल्लो महाधिवेशनले सी को विचारधारा निर्यात गर्ने निर्णय नै गरेको थियो । उक्त निर्णयपछि चीनले राजनीतिक विचारधाराबारे छलफल तीव्र बनाएको छ। यसले कम्युनिष्ट अधिनायकवादको विस्तार गर्ने सी को चाहनालाई बल पुग्दै गएको देखिन्छ । पार्टीको १८औँ अधिवेशन पछि चिनियाँ कम्युनिष्ट पार्टीको विधान संशोधनमा सी को नामसहित उनको विचारधारा समावेश गरिएपछि चीनले सी को राजनीतिक विचारधाराको प्रभाव पनि विश्वभर बढाउने प्रयास गर्दै आएको छ। जसको माध्यमबाट सी ले अघि सारेको बिआरआइमा बढी भन्दा बढी देशहरुको समर्थन चीनले प्राप्त गर्न सकियोस् भन्ने भित्रि इच्छा चीनको रहेको देखिन्छ । त्यसैले पनि यो प्रशिक्षणलाई चिनियाँ राष्ट्रपति सी को आशन्न नेपाल भ्रमणको पूर्व तयारीको रुपमा पनि हेरिएको छ । चिनियाँ विदेशमन्त्रीको भर्खरै सम्पन्न भ्रमणमा सामान्य सहयोग र समझौतामा मात्र सिमित गरिनुले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा निकै महत्वपूर्ण वा ठूलै परियोजनामा सहयोगको हात चीनले फैलाउने अपेक्षा गरिएको छ।

अन्त्यमा
चिनियाँ शैलीको समाजवादको अहिले विश्वब्यापी बहस चलिरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टी पछिल्लो कांग्रेस बैठकबाट महासचिव सी को राजनीतिक विचारलाई नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सी जिनपिङको विचार भन्ने नारा संविधानमा समाविष्ट गरेको छ। चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओ र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका नेता देङ सिआओपिङलाई मात्रै दिइएको थियो । अहिले चीनमा चीनको तेस्रो युग सुरु भएको बताइएको छ । पहिलो चरणमा संस्थापक अध्यक्ष माओले गृहयुद्धले क्षतविक्षत भएको देशलाई एकढिक्का बनाए भने दोस्रो चरणमा देङ सिआओपिङले चीनलाई समृद्ध बनाए। नयाँ युगमा सी ले देशलाई थप एकढिक्का र समृद्ध बनाउनुका साथै देशभित्र विधिको शासन लागू गर्न ुसफल भए भने देश बाहिर आफ्नो देशलाई सशक्त रुपमा प्रस्तुत गरेका छन्। यही अवधारणलाई साकार पार्न राष्ट्रपति सी ले कनेक्टिभिटी, साझा प्रयत्न, साझा लगानी र उपलव्धीमा साझा स्वामित्वबाट दिगो अन्तर्राष्ट्रिय सम्बन्ध तथा साझा समृद्धि हासिल गर्न सकिन्छ र हाम्रो भविष्य अन्तरनिर्भर छ भन्ने दृष्टिकोण अगाडि ल्याएका छन्। यही अभियानमा विश्वब्यापी साथ र सहयोग समर्थन जुटाउने प्रयासमा चीन अघि बढेको छ जसलाई पश्चिमा देशहरुले अधिनायकवाद विस्तारको रुपमा लिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट