दशैँमा दक्षिणा लेनदेन गर्दा नोट मैलो नगर्न राष्ट्र बैंकको अनुरोध

प्रकाशित मिति: ५ आश्विन २०७६, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँमा दक्षिणा लेनदेन गर्दा नयाँ नोटमा रंग तथा अबिर नलगाउन अनुरोध गरेको छ । वर्षेनी नयाँ नोट बजारमा पठाइने भए पनि कम समयमा नै नोट झुत्रा हुन थालेपछि राष्ट्र बैंकले दशैँमा यसको सम्भार गर्न सबैलाई अनुरोध गरेको हो ।

पूजाआजा गर्दा पण्डितहरुले नोट पानीमा भिजाउने र रंग लगाउने गरेको धेरै पाइएकाले अबदेखि त्यसो नगर्न, दशैँमा धेरै नोट कच्याककुचुक नपार्न दक्षिणा लेनदेन गर्दा नोट मैलो नपार्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोटमा जथाभावी केरमेट गर्ने, मैलो बनाउने, च्यात्ने, आकार बिगार्नेलगायतका काम गर्नेलाई कारवाही गर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

नजिँकिदै गरेको दशैँका लागि राष्ट्र बैंकले आउँदो शुक्रबारदेखि दशैँका लागि नयाँ तथा सुकिला नोट साट्दैछ । १७ गतेसम्म राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका कार्यालय र अरु सरकारी बैंकका शाखाबाट नयाँ तथा सुकिला नोट लिन सकिने छ । एक जनाले ५, १०, २०, ५० र १०० दर एक एक पाकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैँयासम्म साट्न मिल्ने राष्ट्र बैंकले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट