मनाङका किसानलाई स्याउ टिप्न भ्याई नभ्याई

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

मनाङ । बगैँचामा ‘गाला’ जातका स्याउ पाकेसँगै हिमाली जिल्ला मनाङ ङिस्याङ गाउँपालिका–१, भ्राताङका कामदारहरुलाई कामको चटारो बढेको छ ।

भ्राताङमा ‘एग्रो मनाङ कृषि फार्म’ले ७ सय ३५ रोपनी क्षेत्रफलमा लगाएको स्याउ टिप्न यतिबेला कामदारहरुलाई भ्याई नभ्याई छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (स्याउ जोन) इकाई कार्यालय मनाङका कृषि अधिकृत राजेश्वर सिलवालका अनुसार गएको हप्तादेखि जिल्लाका किसानहरु पाकेको स्याउ टिप्नमा व्यस्त छन् ।

अन्य जातको स्याउको तुलनामा ‘गाला’ जातको स्याउ छिट्टै पाक्ने भएकाले यस जातको स्याउ टिप्न थालिएको र अन्य जातका स्याउ पाक्ने क्रममा रहेको उनी बताउँछन् । उनका अनुसार यहाँ उत्पादित स्याउ पर्यटकहरुले कोसेलीको रुपमा लगे पनि मुख्य बजार काठमाडौं नै हो । एग्रो मनाङ प्रा.लि. का अध्यक्ष समराज गुरुङले स्याउ टिप्न खटिएका ३० जना कामदारले दैनिक २ सय किलोसम्म स्याउ टिप्ने गरेको जानकारी दिए ।

‘गाला’, ‘गोल्डेन’, ‘फुजी’ जातका स्याउ लगाइएको यस फार्ममा अघिल्लो वर्ष ३ सय ५० मेट्रिक टन स्याउ फलेको थियो । यस वर्ष ४ सय ५० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट