भारतीय खसी आयातमा रोक लागेसँगै खसी-बोकाको मूल्य बढ्यो

प्रकाशित मिति: ३ आश्विन २०७६, शुक्रबार

दाङ । भारतीय खसी आयातमा रोक लगाएपछि स्थानीय स्तरमा उत्पादन गरिएका खसी–बोकाको मूल्य बढाइएको छ ।

खसी बोका उत्पादन गरेर बिक्री वितरण गर्दै आएका सहकारी र व्यापारीबीच भएको छलफलले जिउदो खसी बोकाको नयाँ मूल्य निर्धारण गरेको छ । दसैँ, तिहार, आउँदै गर्दा दाङ, प्यूठान र कर्णाली प्रदेशको सल्यान जिल्लामा मासुको लागी खसी बोकाको मूल्य निर्धारण गरिएको हो । छलफलले प्युठान जिल्लाका लागि २५ केजी भन्दा कम तौलको जिउँदो खसीको मुल्य प्रतिकेजी ३ सय ८० रुपैयाँ, २६ देखि २९ केजी सम्मको जिउँदो खसीको प्रतिकेजी मूल्य ४ सय र ३० केजी भन्दा माथिको जिउँदो खसीको प्रतिकेजी मूल्य ४ सय ५० का दरले निर्धारण गरेको छ । यहाँ खसी र बोकाको मूल्य एउटै निर्धारण गरिएको छ ।

सल्यान जिल्लाको लागि पनि खसीको नयाँ मुल्य निर्धारण गरिएको छ । जहाँ २० देखि २९ केजीको जिउँदो खसीको मूल्य प्रतिकेजी ४ सय ५० र ३० केजीदेखि माथिकोलाई ४ सय ६० प्रतिकेजी मूल्य निर्धारण गरिएको छ । बोकाको हकमा पनि सल्यानमा एउटै मूल्य कायम गर्ने सहमति भएको छ ।

घोराहीमा जिउँदो खसी २० देखि २६ केजीसम्मको लागि प्रतिकेजी ४ सय २० रुपैयाँ, २७ देखि ३५ केजीसम्मको खसीलाई प्रतिकेजी ४ सय ९० र ३५ केजी भन्दा माथिको जिउँदो खसीलाई प्रतिकिलो ५सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । त्यस्तै बोका २५ केजी भन्दा कम तौल भएकालाई प्रतिकेजी जिउँदो ४ सय ३० रुपैयाँ र सो भन्दा माथिकोलाई प्रतिकेजी ४ सय ५० मुल्य निर्धारण गरिएको छ ।

लमही क्षेत्रको हकमा केही फरक मूल्य निर्धारण गरिएको छ । जहाँ जिउदो खसी २० देखि २५ केजी सम्मकोलाई प्रतिकेजी ४ सय ५० रुपैयाँ, २६ देखि ३० केजीसम्मको जिउँदो खसीलाई प्रतिकेजी ४ सय ७० रुपैयाँ, ३१ देखि ३९ केजीको लागि प्रतिकेजी मूल्य ४ सय ८० र ४० केजी भन्दा माथिको जिउँदो खसीलाई प्रतिकेजी ५ सय रुपैयाँको दरले बिक्री गर्ने निर्णय गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट