शान्ति सेनामा खटिने सिपाहीको भत्ता बढ्यो

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । शान्ति सेनामा खटिने सिपाहीहरुको भत्ता वृद्धि गरिएको छ । नेपाली सेनाले शान्ति सेनामा खटिने आफ्ना सिपाहीहरुको भत्ता मासिक ८५ अमेरिकी डलर वृद्धि गरेको छ ।

प्रधानसेनापतिको अध्यक्षतामा बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले भत्तादरमा पुनरावलोकन गरी तल्लो दर्जाका बन्दोबस्ती कार्य सिपाहीको भत्ता एकैपटक ८५ अमेरिकी डलर बढाउने निर्णय गरेको हो। सैनिक ऐन २०६३ बमोजिम गठित सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको भदौ ३० को बैठकले उक्त निर्णय गरेको हो।

हाल प्रतिमहिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १०२९ मा अमेरिकी डलर ८५ थप गरी प्रतिमहिना अमेरिकी डलर १ हजार १ सय १४ पुर्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्यस्तै गण कमाण्ड गर्ने गणपति प्रमुख सेनानीको समेत हाल प्रति महिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १ हजार ३ सय ७८ मा अमेरिकी डलर २१ थप गरी प्रतिमहिना अमेरिकी डलर १ हजार ३ सय ९९ कायम गरिएको छ ।

आगामी अक्टोबर १ तारिखबाट लागू हुने गरी बढाइएको उक्त भत्तादरको कारणले सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख रुपैयाँ व्ययभार पर्ने भएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट