इजरायलीे चिकित्सकद्वारा महिला तथा बाल स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलवार

धुलिखेल । तेल अभिव सौरस्वी चिकित्सा केन्द्र, धुलिखेल अस्पताल तथा सिद्धि मेमोरियल फाउण्डेसनले ईजरायली राजदुतावास नेपालको सहकार्यमा महिला तथा बाल स्वास्थ्यसम्बन्धी सिकाई आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

वार्षिक १८ लाखभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको सौरस्वी चिकित्सा केन्द्रबाट सेप्टेम्बर ९ तारिखदेखि नेपाल भ्रमणमा रहेका प्रसुती तथा स्त्री रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, तथा रेडियोलोजिस्ट संलग्न ५ सदस्यीय चिकित्सक टोलीले उक्त कार्यक्रम सम्पन्न गरेका हुन् । उक्त टोलीले कार्यशाला गोष्ठी एवम् अनवरत चिकित्सा शिक्षा मार्फत स्त्री तथा बाल स्वास्थ्य सम्बन्धी अनुभव धुलिखेल अस्पताल तथा सिद्धि मेमोरियल फाउण्डेसनका चिकित्सक तथा कर्मचारीसँग बाँढेका थिए ।

नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई जीवनरक्षासम्बन्धी नविनतम प्रविधिहरुबारे जानकारी गराउँदै बालरोग एवम् प्रसुती तथा स्त्री रोगसम्बन्धी विभिन्न अत्याधुनिक ईजरायली उपकरणहरु वितरण गरिएका थिए । सो उपकरणको प्रयोग मार्फत प्रभावकारी उपचार, बिरामीको स्वास्थ्यमा सुधार र आमाबच्चाको जीवन रक्षा गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसका साथै कार्यक्रममा भविष्यमा गरिने सहकार्यबारे पनि छलफल भएको थियो ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा ईजरायली दुतावास र गेट ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटीद्वारा संयुक्त रुपमा आयोजित एक साता लामो कार्यक्रमको समापन गरिएको हो । कार्यक्रममा कुटनितिक निकायका प्रमूखहरु तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा ईजरायलले प्राप्त गरेको सफलताबाट नेपाल लगायत विकासोन्मुख देशले फाईदा लिन सक्ने र यस किसिमको सहकार्यको आवश्यकता भविष्यमा पनि रहेको कुरा जिकिर गरेका थिए ।

नेपालका लागि ईजरायली राजदुत महामहिम बेनी ओमरले उपस्थित सबै महानुभावहरु तथा ईजरायल बाट आई नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट सेवा दिने चिकित्सकहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो विशिष्ट प्रकारको सेवा र सहयोग जारी रहने विश्वास व्यक्त गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट