देशका विभिन्न ठाउँमा भारी वर्षा, नदी र खोलामा बाढीको जोखिम उच्च

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकासहित पूर्वदेखि पश्चिमसम्मकै विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। कतिपय ठाउँमा भारी वर्षाकोसमेत सम्भावना रहेकाले नदी र खोलाहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाले देशका धेरैजसो नदी, खोला र खहरेहरुमा आकस्मिक बाढीकोसमेत सम्भावना रहेकाले सतर्कता अपनाउन नागरिकलाई सचेत गराएको छ।

महाशाखाका अनुसार आज र भोली कोसी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, आरूण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैया लगायतका नदीमा बाढी आउने छ। त्यसैगरी मकवानपुर, बारा, पर्सा, सर्लाही, सिन्धुली, काभ्रे, महोत्तरी, चितवन, नवलपरासी, रूपन्देही, कपिलबस्तु, दाङ लगायतका जिल्ला भएर बहने नदीमा बाढीको बहावले सतर्कता तह पार गर्ने अनुमान महाशाखाले गरेको छ।

बुधबारको पनि मौसम यस्तै किसिमको रहने र बिहीबारदेखि मौसम सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। एकैछिन मौसम खुले पनि एकैछिनमा बदली हुने उनको अनुमान छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट