सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने: मुख्यमन्त्री राई

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै मुख्यमन्त्री राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिए । आइतबार सम्पन्न सुरक्षा बैठकले प्रदेशभरिका सार्वजनिक जग्गा एक महीनाभित्र खोजी गर्न निर्देशन भएको जानकारी गराउँदै मुख्यमन्त्री राईले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह पनि गरे ।

अनियमितता हुन नदिन कडा निगरानी गरिनेमा जोड दिँदै उनले परियोजना बैंक खोलिने र लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई बलियो बनाई आधुनिक प्रदेश निर्माण गरिने जानकारी दिए ।

आफ्ना कमी कमजोरी सच्याउँदै अघि बढ्न प्रहरीलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सबैको मर्यादालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सुझाव दिए । सुरक्षा संयन्त्रलाई बलियो बनाउन र प्रविधिमैत्री बनाउन प्रदेश सरकारको तर्फबाट भएको सहयोगको सराहना गर्दै उनले समुदायमा विश्वासको वातावरण सिर्जना गरेर समाजमा शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई सफलता मिल्ने भएकाले अब अपराध र अपराधीको गुञ्जाइस नरहेको जिकिर गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले रु. एक करोड १४ लाखको लागतमा ५८ थान सिसिटिभी जडान भएको र यसबाट मोरङभर ६० किमी क्षेत्रको निगरानी गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । आन्तरिक मामिला तथा कानून सचिव हरिप्रसाद मैनालीले प्रहरी प्रविधिमैत्री भएमा अपराध नियन्त्रणमा बल पुग्नाका साथै सुरक्षा व्यवस्था सुदृढ हुने र सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप पनि नियन्त्रण हुनेमा जोड दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट