बिजुलीको धेरै पैसा लिने घरबेटीलाई कारवाही गरिने

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुलीको धेरै पैसा लिने घरधनीलाई कारवाही गर्ने बताएका छन् ।

प्राधिकरणले तोकेकाभन्दा बढी दरमा महसुल असुल्नु गैरकानूनी भएको भन्दै कुलमान प्राधिकरणसँग तोकिएको दरमा किनेको विद्युत् त्योभन्दा बढीमा बेचेर व्यापार गर्न नपाइने बताएका हुन् । प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कुलमानले त्यस्तो व्यवहारले प्राधिकरणप्रति नै नागरिकको धारणा गलत हुने भएकाले अनावश्यक व्यापार नगर्न र महसुल के कति हो सो आधारमा मात्रै महसुल तिर्न घरबहालमा बस्नेलाई आग्रह समेत गरेका छन् ।

प्राधिकरणले २० युनिटसम्मको विद्युतमा रु ३० सेवा शुल्क लिएको छ भने प्रतियुनिट तीन रुपियाँका दरले लिने गरेको छ । यस आधारमा २० युनिट विद्युत प्रयोग गर्नेले ९० रुपियाँ महसुल तिर्नुपर्छ । २१ देखि ३० युनिटसम्म सेवा शुल्क ५० रुपैयाँ र प्रतियुनिट सात रुपैयाँका दरले लिने गरेको छ । यस आधारमा १२० रुपैयाँ महसुल तिर्नुपर्छ ।

यस्तै, ३१ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले सेवा शुल्क ७५ रुपैयाँ र प्रतियुनिट आठ रुपैयाँ ५० पैसाका दरले तिर्नुपर्छ । प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवाशुल्क १०० रुपैयाँ र प्रतियुनिट १० रुपैयाँका दरले तिर्नुपर्छ । एक सय ५१ देखि २५० युनिटसम्म सेवा शुल्क १२५ रुपैयाँ र प्रतियुनिट ११ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकले सेवा शुल्क १५० रुपैयाँ र प्रतियुनिट १२ रुपैयाँ महसुल तिर्नुपर्छ भने त्यसभन्दा माथि सेवा शुल्क १७५ रुपैयाँ र प्रतियुनिट १३ रुपैयाँका दरले तिर्नुपर्ने व्यवस्था छ ।

यो महसुल पाँच एम्पियर विद्युत् लिने ग्राहकको हकमा लागू हुने गरेको छ । यस्तै १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरको महसुलमा भने सामान्य बढी मात्रै रहेको छ । शहरी क्षेत्रमा घर बहालमा बस्नेले मनलाग्दी शुल्क लिएको विषयमा गुनासो आएको भन्दै प्राधिकरणले विद्युतमा अनावश्यक व्यापार नगर्न भनेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट