नीजि क्षेत्रलाई नुन बिक्रि गर्न दिने कुरा हावादारी र भ्रामक: मन्त्री यादव

प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृका प्रसाद यादवले सरकारले नीजि क्षेत्रलाई नुन बिक्रि वितरण गर्न दिने सरकारको योजना नभएको प्रष्ट्याउँदै केहि सञ्चार माध्यमले हावादारी र भ्रामक समाचार सम्प्रेषण गरेको टिप्पणी गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले कहिल्यै पनि गुणस्तरियतामा सम्झौता नगर्ने बताउँदै नुन बिक्रि वितरणको जिम्मेवारी पाएको साल्ट ट्रेडिङको काममा सरकार बाधक नभएको स्पष्ट पारे । उनले दशैँ तिहारको समयमा मात्र नभई सधैंभरी नै सस्तो र सहुलियत मूल्यका पसलहरु सञ्चालन हुनु पर्नेमा जोड दिए ।

मन्त्री यादवले साल्ट ट्रेडिङले स्थापनाकालदेखि नै उपभोक्ताको हक हितका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै आम उपभोक्तालाई सेवा दिने संस्थान मध्येमा उत्कृष्ट रहेको जिकिर गरे । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै साल्ट ट्रेडिङ संचालक समितिका अध्यक्ष लक्ष्मी दास मानन्धरले कर्पोरेशनले आम उपभोक्ताको चाहना र सरकारको निर्देशन अनुरुप सेवा विविधिकरणमार्फत सुपथ एबम् सहुलियत दरमा गुणस्तरिय वस्तु बिक्री वितरण गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उपभोक्ताको सामान तथा वस्तु सहजिकरण गर्ने सरकार सदैव तयार रहेको बताउँदै कर्पोरेशनले खेलेको भूमिकालाई प्रशंसा गर्दै बजारमा अस्वभाविक रुपमा बढ्ने मुल्य वृद्धिलाई रोक्न यसले सहयोग पूर्याएको बताए ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सबैको सहयोगबाट संस्थानले गरेको प्रगतिलाई आत्मसाथ गर्दै संस्थानले मानव जीवनमा महत्वपूर्ण परिवर्तन ल्याएको बताईन् । दशैँ तिहारलाई लक्षित गरी सहुलियतका पसलका साथसाथै विभिन्न सामानमा छु्ट समेत प्रदान गरेको जानकारी गराईन् ।

कार्यक्रममा साल्ट ट्रडिङ छात्रवृत्ति अन्तर्गत एसईईमा उत्कृष्ट अंक ल्याउने कर्मचारीका छोराछोरीहरुलाई पुस्कार वितरण गरिएको थियो । साल्ट ट्रेडिङ अनङमान शेरचन छात्रवृत्ति अमोज लामिछानेका छोरा अभिषेक लामिछाने र साल्ट ट्रेडिङ लोकनाथ छात्रवृत्ति मेघराज ज्ञवालीकी छोरी स्नेहा ज्ञवालीलाई प्रदान गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट