दशैँमा आफ्नै देशको खसी-बोका प्रयोग हुने, भारतबाट आयात बन्द

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

काठमाडौं । सरकारले यो दशैँमा भारतबाट खसी–बोका नल्याउने भएको छ । दशैँका लागि स्वदेशी खसी-बोकाले मात्रै प्रशस्त पुग्ने भएकाले सरकारले यो वर्ष भारतीय खसी–बोका आयात नगर्ने भएको हो ।

विगतलाई आधार मान्दा दशैँका बेला काठमाडौंमा ४० देखि ५० हजार खसी–बोकाको माग रहन्छ। त्यो संख्याको खसी–बोका गाउँगाउँबाट नै सङ्कलन गरेर ल्याउने योजना बनाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । गत वर्षको दशैँमा काठमाडौंमा कुल मागको ७० प्रतिशत भारतीय खसी–बोकाले धानेको थियो। तर यो पटक स्वदेशी खसीबोकाले मात्रै माग धान्ने भएको हो।

दशैँका लागि प्रशस्त खसी–बोका पुग्ने बाख्रा व्यवसायी संघका अध्यक्ष श्याम पोखरेलले बताए। सरकारले मासु जाँच ऐन, २०५५ र नियामावली २०५६ लाई कडाइका साथ कार्यान्वयन गर्दा भारतबाट खसी–बोका आयात हुन सकेको छैन। भन्सार विभागको तथ्याङ्क अनुसार गत पुसदेखि सरकारले आयातित खसी–बोकाको लागि पशु स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरेको छ।

गत गर्षको भदौ मा १ लाखभन्दा बढी खसी–बोका भारतबाट आयात भएकोमा यो वर्षको भदौ २५ सम्म भारतबाट खसी–बोका आयात नभएको देखाउँछ। पशु जाँचमा कडाइ गर्दा दशैँमा खसी–बोका अपुग हुने भन्दै व्यवसायीले सरकारलाई खुल्लारूपमा आयात गर्न दिन आग्रह गर्दै आएका छन्। तर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको एक सर्वेक्षणले भने दशैँमा खसी–बोकाको कमी नहुने जनाएको छ।

सरकारले पशु जाँच ऐन कडाईका साथ लागू गर्दा गाउँको उत्पादनले बजार पाउने भएको छ । अहिले सरकारले पशु आयातमा कडाइ गर्दा किसान पनि जागरूक भएको र उत्पादन बढाउँदै लगेको मन्त्रायका सह प्रवक्ता प्रदिप भट्टराईले जानकारी दिए। उनका अनुसार दशैँका लागि बाख्रा व्यवसायी सङ्घबाट २७ हजार, हेफर नेपालको कार्यक्रम लक्षित बाख्रापालक कृषक समूहबाट १५ हजार, कृषकबाट खुद्रा रूपमा ७ हजार र बाख्रा व्यापारीहरूबाट १२ हजारदेखि १५ हजारसम्म खसी–बोका उपलब्ध हुने मन्त्रालययलाई जानकारी आएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट