आज इन्द्रजात्रा, वर्षाका देवता इन्द्रको पूजा गरी मनाइँदै

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

काठमाडौं । वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइँदै छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने इन्द्रजात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेको धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ ।

तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जंगलबाट लिंगो काटेर ल्याउने गरिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना काठमाडौं आएका छन् । नेपालको धर्म, संस्कृति र परम्पराको प्रचार गरेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पुर्‍याउन पनि विदेशी पाहुनाहरुलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा गरिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

इन्द्रजात्राको अवसरमा शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । इन्द्रजात्राका अवसरमा राष्ट्रपतिबाट हनुमानढोकामा रहेको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट